सुदुरपश्चिम प्रदेशमा  सरकार बनाउन एमाले–नेकपा गठबन्धनको कसरत

युग संवाददाता     51 पटक पढिएको    

सुदुरपश्चिम प्रदेशमा  सरकार बनाउन एमाले–नेकपा गठबन्धनको कसरत

 


धनगढी  नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता गठबन्धन भत्किन सुरु गरेपछि अहिले दलहरू एकआपसमा नयाँ समीकरण बनाउन आन्तरिक छलफल र संवादमा जुटेका छन्। प्रदेशहरूमा नेकपा र एमाले, नेकपा र कांग्रेस तथा कांग्रेस र एमालेबीचको समीकरणबारे चर्चा छ। अहिले सबैभन्दा धेरै नेकपा र एमालेबीच नयाँ गठबन्धनको गृहकार्य भइरहेको छ। कांग्रेस र नेकपाबीच पनि छलफल नभएका होइनन्, तर त्यसले मूर्त रूप भने लिन सकेको छैन। केही नेताहरू पुरानो गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा पनि उभिएका थिए। तर त्यसको सम्भावना पनि क्षीण छ।

नेकपाले अहिले नयाँ गठबन्धनबारे संवाद गर्न नेता वर्षमान पुन र प्रमेश हमाललाई जिम्मेवारी दिएको छ। यी दुई नेताले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नयाँ सत्ता गठबन्धनबारे छलफल गरेका थिए। ओली सकेसम्म तीनदलीय गठबन्धनमै रहे पनि शुक्रबार पहिलो पटक दुईदलीय गठबन्धन बनाउन तयार रहेको संकेत उनीहरूलाई दिएका थिए। तर बागमती र मधेशमा भने अन्य शक्तिसँग पनि सहकार्य गर्नुपर्ने बाध्यता रहेको उनले सुनाएका थिए।


बागमती र मधेश प्रदेशमा एमाले र नेकपा मात्रै मिल्दा बहुमत संख्या नपुग्ने भन्दै ओलीले अन्य दलहरूलाई पनि यी दुई प्रदेशमा साथमा लिनुपर्ने बताएका थिए। शुक्रबार एमाले अध्यक्ष ओलीसँग भेटेका नेताहरूले शनिबार कांग्रेस सभापति गगन थापासँग भेट्ने कार्यक्रम थियो। तर गठबन्धनबारे छलफल गर्ने गरी कांग्रेस सभापतिसँग भेट नभएको थापाको सचिवालयले जनाएको छ। ‘नेकपा नेताहरूसँग कुनै त्यस्तो भेटघाट भएन,’ सचिवालयले भन्यो।


एमाले अध्यक्ष ओलीसँग र कांग्रेस सभापति थापासँग भएको छलफलपछि उनीहरूले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस विषयमा जानकारी गराउने बताएका थिए। ओलीसँग लामो संवाद भए पनि थापासँग भने भएन। अहिले प्रचण्ड नेपालबाहिर रहेको हुँदा सहसंयोजक माधवकुमार नेपालले यस विषयमा जानकारी लिइरहेका छन्। ‘माधव कमरेडले नै उहाँहरू ९वर्षमान र प्रमेश०लाई बोलाएर गठबन्धन गर्ने दलहरूसँग छलफल गर्न जिम्मा दिनुभएको हो,’ नेकपा उच्च स्रोतले भन्यो, ‘अहिले एमाले र कांग्रेससँग छलफल भइरहेको बताइए पनि एमालेसँगको छलफलले तीव्रता पाइरहेको छ।’

नेकपाभित्रै केही नेताहरूले अहिले कांग्रेसलाई साथ दिनुपर्ने बताइरहेका छन्। तर ठूलो संख्यामा एमालेसँग कार्यगत एकता गर्ने र आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनसम्मै जाने गरी सहमति गर्न जोड दिइरहेका छन्। यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओली र सहसंयोजक माधवकुमार नेपालबीच पनि भेटघाट गराउन नेकपा तथा एमालेकै नेताहरू सक्रिय भइरहेका छन्। ‘आज माधव कमरेड बिरामी हुनुहुन्छ। एमाले अध्यक्षसँग भेटबारे कुरा भइसकेको छ। बानेश्वरको एक घरमा भेट गर्ने कुरा भएको छ। केही दिनभित्रै त्यो भेट हुन्छ। त्यसले नेकपा र एमालेलाई एक ठाउँमा ल्याउन भूमिका खेल्छ,’ नेकपाको उच्च स्रोतले भन्यो।

एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड प्रदेशहरूमा तीनदलीय गठबन्धन बनाउन सहमत छन्। तर नेपाली कांग्रेसले भने तीनदलीय गठबन्धनबारे सुरुबाटै विरोध जनाइरहेको छ। नयाँ सत्ता समीकरणबारे नेकपा र एमालेका एजेन्डा मिल्दै जाँदा काङ्ग्रेससङ्ग दुरि बढ्दै गइरहेको नेकपाक नेताहरूको जोड छ । ‘अहिले गठबन्धनबारे काङ्ग्रेसको एमालेसँग मतभेद बढ्दै गइरहेको छ। नेकपाका संयोजकसँग निर्णायक कुरा हुन बाँकी छ,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘अब नेकपा संयोजक आएपछि यस विषयमा टुंगो लाग्छ।’ यता नेकपा र एमालेबीच भेटघाट बाक्लिँदै गइरहेका बेला कांग्रेससँगको छलफलमा भने कमी आइरहेको उनको बताए ।

प्रचण्ड, ओली र थापा दुवैसँग संवादमा छन्। कर्णाली प्रदेशमा एमालेको सरकार ढालेर कांग्रेसलाई मुख्यमन्त्री बनाउने विषयमा नेकपाले अग्रसरता दिएको थियो। कांग्रेससँग सकारात्मक हुँदा कर्णालीमा त्यो अवस्था सिर्जना भए पनि अहिले एमालेसँग संवाद बढेपछि नेकपाकै नेताहरूले उक्त निर्णयबाट फिर्ता हुनुपर्ने बताइरहेका छन्। एमाले अध्यक्ष ओलीले शुक्रबार नेकपाका नेताहरूलाई पनि कर्णालीमा नेकपाले हतार गरेको बताएका थिए। यो निर्णयबाट पछि हट्न र नेकपा–एमाले सहकार्यको वातावरण बनाउन ओलीले संकेत दिएपछि ती नेताहरूले वार्ता सकारात्मक भएको भन्दै संयोजक तथा सहसंयोजकलाई रिपोर्टिङ गरेका थिए।

कर्णालीमा नेकपा ब्याक हुने संकेत
नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरू कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेससँग सहकार्य गर्न नहुने पक्षमा उभिएका छन्। कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलविरुद्ध कांग्रेसले नेकपासँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएसँगै शीर्ष तहका नेताहरूले नै असन्तुष्टि देखाएका छन्। नेकपाका नेता शक्तिबहादुर बस्नेतले पनि कर्णाली प्रदेशमा नेपाली कांग्रेससँग मिलेर एमालेविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई हतारोको संज्ञा दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रदेश सरकारमा सहभागिता जनाउने विषयमा यति धेरै हतारो किन गर्नु परेको होला रु’ उनले अहिलेको अवस्थामा सत्ताको खिचातानीभन्दा पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेकपाका प्रभावशाली नेता एवं कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार फेरबदलमा सक्रियता देखाएपछि बस्नेतले यस्तो टिप्पणी गरेका हुन्। नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज टेकबहादुर बस्नेतले पनि प्रदेश सरकारमा सहभागी हुने विषय पार्टीको नीति विपरीत भएको टिप्पणी गरेका छन्। नेकपाका अर्का नेता नरेश भण्डारीले पनि कांग्रेससँग सहकार्य गर्ने विषयलाई घातक कदमको संज्ञा दिएका छन्।

कर्णालीमा कांग्रेसलाई नेतृत्व दिएर नेकपा सरकारमा गएपछि नेकपाभित्रै पनि त्यसको विरोध भइरहेको हो। नयाँ समीकरणको खेल चलिरहँदा नेकपाले कांग्रेस र एमालेसँग समानान्तर संवाद चलाइरहेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाबाट फर्केपछि राजनीतिक घटनाक्रमले तीव्रता पाउने सम्भावना छ।



आइतबार ०३, साउन २०८३ ०४:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal