उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भट्ट नवनियुक्त

युग संवाददाता     50 पटक पढिएको    

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भट्ट नवनियुक्त

 

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई सपथ गराएका हुन्। नेपाली कांग्रेसका तर्फबाट बैतडी प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद भट्टलाई मुख्यमन्त्री कमल शाहले मन्त्रीमा नियुक्त गरेका थिए। यसअघि लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री शाहले आफैंसँग राख्दै आएका थिए।


भट्ट यसअघि प्रदेश सरकारमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन्। संसदीय दलको बैठकले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेसँगै उनले पुनः मन्त्रिपरिषद्मा स्थान पाएका हुन्। नवनियुक्त मन्त्री भट्टले सपथपछि  उद्योग, पर्यटन प्रवर्द्धन, वन संरक्षण र वातावरणीय सन्तुलनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले प्रदेशको समग्र आर्थिक विकासमा योगदान पुग्ने गरी नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उल्लेख गरे।

प्रदेश सरकारका अनुसार लामो समयदेखि नेतृत्वविहीन रहेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै अब नीति निर्माण तथा कार्यान्वयनमा तीव्रता आउने अपेक्षा गरिएको छ।



सोमबार २३, चैत २०८२ ०२:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal