दुर्गममा सेवा विस्तार गर्दै टेलिकम, उच्च हिमाली भेगमा पनि थ्रीजी

देश

Yugnepal     901 पटक पढिएको    

दुर्गममा सेवा विस्तार गर्दै टेलिकम, उच्च हिमाली भेगमा पनि थ्रीजी

 

 दुर्गममा सेवा विस्तार गर्दै टेलिकम, उच्च हिमाली भेगमा पनि थ्रीजी
काठमाडौं । नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा प्रदान गर्ने क्रमलाई तिव्रता दिएको छ । कम्पनीले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दुर्गम र विकट भेगहरुमा मोबाइल सेवा सुरु गरेको हो ।

कम्पनीले हालसम्म मोबाइल तथा टेलिफोनजस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्याउन सफल भएको जनाएको छ । टेलकमका अनुसार हालै ४ हजार २९० मिटर उचाइमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखिएको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुण्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोबाइल सेवा उपलब्ध हुनेछ । यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुनेछ । रसुवाकै ३ हजार २ सय ४२ मिटर उचाइमा अवस्थित लाङटाङ पदमार्गमा पनि टेलिकमले अर्को बीटीएस टावर राखेको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् ।

टेलिकमले ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराएको छ । ३ हजार ८ सय २५ मिटर उचाइमा अवस्थित यस टावरमार्फत् घुन्सा, थामे, ज्याल्पा र कञ्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन् ।

यसैगरी डोल्पाको मुकोट र शे–फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३ सय १६ मिटर उचाइको मुकोटमा अवस्थित टावरमार्फत् छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७ सय ४ मिटरको शे–फोक्सोन्डुमा अवस्थित टावरमार्फत् शे–फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत् करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन् ।

कम्पनीले हालै  मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाइमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको सुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका बासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ ।

मुलुककै अग्रणि दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ । नाफालाई मात्र ध्यानमा नराखी मुलुकभर सेवा विस्तार गर्दै आएको कम्पनीको दाबी छ ।

बीटीएस टावर स्थापनापछि यी भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको टेलिकमले बताएको छ ।



मङ्गलबार २१, जेठ २०७६ ०२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.