उपनिर्वाचनले गठबन्धनमा संशय

युग संवाददाता     87 पटक पढिएको    

उपनिर्वाचनले गठबन्धनमा संशय


काठमाडौँ । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१  को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएपछि गठबन्धनमा संशय उत्पन्न भएको छ । 

एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेपछि अरु दलले पनि आफ्ना उम्मेदवार उठाउने भन्दै अग्रसरता लिंदा गठबन्धनमा संशय उत्पन्न भएको हो । 

सरकारमा महत्वपूर्ण मन्त्रालय लिएर सहभागी भएको रास्वापाले त इलाम बजारमा उम्मेदवार घोषणा नै गरिसकेकाले उम्मेदवारी फिर्ता गर्ने संभावना निकै कमजोर छ । 

त्यसैगरी माओवादी केन्द्रको पदाधिकारी बैठकले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । नेकपा एसले त गठबन्धनबाटै झलनाथ खनाललाई उम्मेदवार बनाउने अपेक्षा गरेको बेला एमालेले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि चिढिएको छ । उसले आफ्नै उम्मेदवार तय गरिसकेको छ ।

एकीकृत समाजवादीले दुवै क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाइसकेको छ । जनता समाजवादी पार्टी जसपाले पनि उम्मेदवारी दिने तयारी गरेको छ । 

एमाले, रास्वपाबाहेक अरू दल सहमतिका आधारमा साझा उम्मेदवार बनाउने मनस्थितिमा थिए । एमालेले गठबन्धनमा छलफलै नगरी इलाम–२ मा पूर्वसभामुख एवं एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ र बझाङ–१ ९१० मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय लिएपछि अरू सत्ता साझेदार दलले पनि उम्मेदवार उठाउने भन्दै एमालेलाई धम्क्याइरहेका छन् । 

गत आम निर्वाचनमा इलाम–२ मा एमालेका नेम्वाङ १ सय १४ मत मात्रले विजयी भएकाले त्यहाँ कडा प्रतिस्पर्धा हुने देखिन्छ  । तर एमालेले यसपटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार सञ्चालन गर्न निस्फिक्री छाडिदिएर इलाम र बझाङमा आफ्नो उम्मेदवारलाई सांसद छिराउने प्रयासमा लागेको देखिन्छ ।

माओवादीले इलाम–२ मा धीरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ । यीमध्येबाट एक उम्मेदवार उठाउने बताए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई समर्थन गर्नसक्ने भन्दै माओवादीसँग अपेक्षा गरेका छन्  । 

उनले एमालेकै जत्तिकै जनमत भएको भए अहिलेको अवस्थामा माओवादीलाई नै समर्थन गरेर जान सकिन्थ्यो भन्दै माओवादीलाई झन् दोधारमा पारेका छन् । 

आउँदो २४ गते शनिबारसम्म ओलीले माओवादीलाई फकाउने बताइएको छ । रास्वपाले माओवादी पृष्ठभूमि भएका मिलन लिम्बूलाई उम्मेदवार बनाइसकेको छ । 

एमाले उपमहासचिव विष्णु रिमालले साझा उम्मेदवार उठाउने विषयमा छलफल नै नभएको बताएको भए पनि ओलीले शनिबार एक कार्यक्रममा माओवादीको समर्थन रहने बताएपछि प्रचण्डले पनि वामपन्थीहरु मिलेर जान सकिने भन्दै समर्थन गर्ने संकेत गरिदिए । 

प्रचण्डले समाजवादी क्रान्तिका लागि मौलिक बाटोको खोजी हुने र ०७४ को चुनाव अघिका देशभक्त वामपन्थीहरूको एकतामा फर्किएको बताएका थिए ।  

‘२०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौँ भन्ने प्रस्ताव मैले नै गरेको हो । झन्डै दुई तिहाइमा पुग्यौँ पनि । तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौँ, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौँ,’ उनले भने, ‘तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौँ ।’ 

उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि इलामका माओवादी कार्यकर्ताहरु अन्योलमा रहेका छन् ।

 माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पदाधिकारी बैठकले उम्मेदवार उठाउने निर्णय गरे पनि व्यक्तिको टुंगो एक–दुई दिनमा लाग्ने बताएका छन् । उम्मेदवार हुने वा नहुने भन्नेमा अध्यक्ष प्रचण्डमै निर्भर रहने बताइएको छ ।  

स्रोतका अनुसार इलाम–२ मा सुहाङलाई सघाउन एमाले अध्यक्ष ओलीले प्रचण्डसँग छलफल नै गर्ने भएका छन् । 

एकीकृत समाजवादीले इलाम–२ मा जितबहादुर राई र बझाङ–१ ९१० मा वीरबहादुर सिंहलाई उठाउने भएपछि एमालेका लागि नेकपा एस घुँडाको पिलो बराबर भएको अनुमान गरिएको छ । 

एकीकृत समाजवादी उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘हामीलाई प्रतिस्पर्धा गर्नबाट कसैले पनि रोक्दैन ।’ एमालेले दुवै क्षेत्रमा उम्मेदवार घोषणा गरेपछि समाजवादीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।  हाम्रा कुराबाट



आइतबार १८, चैत २०८० ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.