सञ्चार नियन्त्रणको नियतप्रति प्रेस युनियनको कडा आपत्ति

Yugnepal     704 पटक पढिएको    

सञ्चार नियन्त्रणको नियतप्रति प्रेस युनियनको कडा आपत्ति


 
काठमाडौं । सरकारले मिडियालाई अंकुश लगाउने नियतसहित ल्याउन थालेको विधेयकप्रति नेपाल प्रेस युनियनले कडा आपत्ति जनाएको छ । मिडियालाई नियन्त्रण गर्ने उद्देश्यले केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिएको आम सञ्चार विधेयक प्रेस स्वतन्त्रता विरोधी मात्रै नभएर निरंकुशताको नियतले ल्याइन थालेको प्रतिक्रिया युनियनका अध्यक्ष बद्री सिग्देलले दिए । आजै नेपाल प्रेस   युनियनका महासचिव अजयबाबु शिवाकोटीले  एक विज्ञप्ति जारी गरी सरकारको ल्याउन थालेको मिडियासम्बन्धि विधेयकप्रति कडा आलोचना गरेका छन् । विज्ञप्ति जस्ताको त्यस्तैः

मिडियालाई नियन्त्रण गर्ने नियत राखि वर्तमान केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियन आन्दोलित भएको छ । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिएको ‘कू’ को बिरोधमा युनियनले यस अघि सुरु गरेको एकहप्ते कार्यक्रम अन्तर्गतको बाँकी कार्यक्रम सचिवालयको बैठक बसी अनुमोदन गरि सार्वजनिक गरिएको छ ।

बैठकका निर्णयहरु
 मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट नेपाल प्रेस युनियनले बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन दिने ।

 मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने । काठमाडौ उपत्यका भित्रका शाखाका सदस्यहरुले केन्द्रीय समितिको कार्यक्रममा सहभागिता जनाउने । काठमाडौ उपत्यका बाहिरका शाखाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने ।

मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तर्क्रिया गर्ने । उपत्यका भित्रका शाखाहरुले केन्द्रीय समितिले गर्ने कार्यक्रममा सहभागिता जनाउने ।

 मिडिया नियन्त्रण गर्न खोज्ने केपी ओली नेतृत्वको सरकार बिरुद्ध देशैभर जेठ २ गते प्रदर्शन गर्ने । काठमाडौ उपत्यकाको हकमा सबै शाखाहरुलाई केन्द्रीय समितिले दिउसो २ बजे माइतिघरबाट आयोजना गर्ने बिरोध प्रदर्शनमा सहभागिहुन निर्देशन दिने । साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा रहेका सबैलाई सो प्रदर्शनमा सहभागि हुन अपिल गर्ने ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरुले गरेका सबै कार्यक्रमहरुमा सकृय सहभागिताको लागि देश भित्र र बाहिर रहेका सबै सदस्यहरुलाई निर्देशन गर्ने ।



आइतबार २९, बैशाख २०७६ ०९:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.