सुदूरपश्चिमबाट चार जना मन्त्री बनाउनु पनि षड्यन्त्र -नेता रावल

युग संवाददाता     817 पटक पढिएको    

सुदूरपश्चिमबाट चार जना मन्त्री बनाउनु पनि षड्यन्त्र  -नेता रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी नेकपा लाई कमजोर बनाउन प्रधानमन्त्री केपी ओलीले षडयन्त्र गरिरहेको बताएका छन् ।


नेता रावलले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेर सुदूरपश्चिम प्रदेशलाई माया गरेको नक्कली कुरा गरी विदेशी अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको प्रदेशमा नेकपालाई कमजोर तुल्याउने षड्यन्त्र गरिरहेको बताएका हुन् । उनले प्रधानमन्त्रीले फुटको बेला सुदूरपश्चिमबाट चार जना मन्त्री बनाउनु पनि षड्यन्त्रको एउटा अंग रहेको बताएका छन् ।

‘गत आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा साबिक नेकपा ९एमाले० ले अभूतपूर्व रुपमा सफलता हासिल गरी उहाँलाई प्रधानमन्त्री बन्न सहज बनाइदिदा एकजना पनि मन्त्री नबनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले हाल पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई सुदूरपश्चिम प्रदेशलाई माया गरेको नक्कली कुरा गर्नुभएको छ । यो माया गरिएको होइन, विदेशी अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लाई कमजोर तुल्याउने षडयन्त्रको एउटा अंग मात्र हो ।’

नेता रावलले देश कोरोना विषाणुको महामारीबाट थिलथिलो भइरहेको, खोपको व्यवस्था गर्न र अर्थतन्त्रलाई उकास्न ठूलो धनराशी आवश्यक भएको समयमा कथित आम निर्वाचनको कुरा गरेर देशलाई थप आर्थिक संकटतर्फ धकेल्ने देश र जनता विरोधी काम गरेको जनाएका छन् ।
‘नेपाली जनताको रगत पसिनाको सिर्जना नेपालको संविधान कुल्चदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नेजस्तो अलोकतान्त्रिक र गैरजिम्मेवार काम गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको निर्वाचन मार्फत प्रकट मतमाथि प्रहार गर्नुका साथै सात दशक लामो कठोर संघर्ष, बलिदान र कष्टसाध्य प्रयत्नबाट निर्मित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० माथि घात गर्दै पार्टी विभाजन जस्तो घृणित कार्य गर्नुभएको छ । उहाँको यस्तो काम देश, जनता र पार्टीप्रतिको जिम्मेवारीलाई लत्याउँदै गरिएको विश्वासघात हो ।’

अतिक्रमणमा परेको नेपाली भूमिमा हक भोग कायम गर्न राष्ट्र र जनतालाई एकताबद्ध बनाउनु पर्नेमा उल्टै प्रतिनिधि सभा भंग गर्दै पार्टी फुटाउने कलंकपूर्ण काम गरेको नेता रावलले जनाएका छन् । ‘उहाँको राष्ट्रहित विरोधी, अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश कार्यको सर्वत्र निन्दा र विरोध भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना गलत कार्यमाथि पर्दा हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले कुप्रचार टोली मार्फत भ्रम सिर्जना गर्ने, असहमतहरुका विरुद्ध गालिगलौज गर्न लगाउने, गुट स्वार्थमा राज्यकोषको दुरुपयोग गर्ने, आर्थिक प्रलोभन, धाकधम्की दिने जस्ता क्रियाकलाप गराइरहनु भएका तथ्यहरु सार्वजनिक भइरहेका छन् ।’

नेता रावलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले शुक्रबार धनगढीमा सम्बोधन गरिरहेको कार्यक्रममा भ्रम छरिने जनाउँदै अलोकतान्त्रिक र गलत कार्यको विरोध गर्न तथा उनको गुटले सिर्जना गरेका भ्रममा नपर्न आव्हान समेत गरेका छन् ।



शुक्रबार २४, पुष २०७७ ०७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.