कञ्चनपुरका १८ वर्षीय किशोरलाई भारतीय भूमिमा गोली हानियो

युग संवाददाता     971 पटक पढिएको    

कञ्चनपुरका १८ वर्षीय किशोरलाई भारतीय भूमिमा गोली हानियो

 

धनगढी । भारतमा रोजगारीका लागि गएका एक नेपाली युवामाथि नेपाल फर्कदै गर्दा गोली चलाइएको छ।

नेपाल भारतको सीमा कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा नेपाली युवा माथि गोली चलाएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका वडा नं। १ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ साढे ६ बजे गोली लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी मुकुन्द मरासनीले जानकारी दिए।

घाइते सुनारको दाहिने खुट्टामा गोलीको छर्रा लागेको एसपी मरासनीले बताए।

गोली कसले चलाएको हो भन्ने कुरा भने नखुलेको उनले बताए। ‘सीमा क्षेत्र नजिकै गोली लागेको हो,’ उनले भने, ‘एसएसबी र वन रक्षकको संयुक्त गस्ती टोली यस क्षेत्रमा घुमिरहन्छ, कसले गोली चलायो अनुसन्धान भइरहेको छ।’

घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

‘उहाँ अहिले नेपाल आइसक्नुभएको छ र हामीले उहाँलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा पठाउन लागेका छौं,’ एसपी मरासनीले भने।

प्रहरीका अनुसार रोजगारीका लागि गएका सुनार भारतबाट स्वदेश फर्किरहेका थिए ।

‘इण्डियाबाट आउँदै गर्दा इण्डियाकै भूमिमा त्यहाँनेर एउटा सालको रूख काटेको थियो रे,’ एसपी मरासनीले घाइतेलाई उद्धृत गर्दे भने, ‘त्यहीँ सालको रूख काटेको छेउमा आइपुग्दा ड्याम्म आवाज आयो रे, अनि उहाँको दाहिने खुट्टामा छर्रा लागेको रहेछ।’

घटनाबारे सत्य तथ्य बुझ्न आफूले दोधारा चाँदनीका प्रहरी निरीक्षकलाई बुझ्न पठाएको एसपी मरासनीले बताए।

‘नेपालको सीमाना कुदियाकबर भन्दा पाँच सय मिटर भित्र भारतीय भूमिमा सुनारलाई गोली हानिएको रहेछ,’ मरासनीले भने, ‘सुनारलाई कसले र किन गोली हान्यो भन्ने यकिन भइसकेको छैन।’

यसैबिच सीमा क्षेत्रका सर्वसाधारणले भने भारतीय सुरक्षाबल एसएसबीले गोली हानेको हुन सक्ने अनुमान गरेका छन्।



मङ्गलबार २१, पुष २०७७ ११:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.