अर्बौ खर्चेर बनेको तटबन्ध भत्किदै नदी बस्तीमा पस्ने खतरा

युग संवाददाता     942 पटक पढिएको    

अर्बौ खर्चेर बनेको तटबन्ध भत्किदै नदी बस्तीमा पस्ने खतरा


 एकिन्द्र तिमिल्सेना


टीकापुर - कर्णाली नदीले टीकापुर नगरपालिका वडा नम्बर २ जनशक्ति सामुदायिक वनको मुलपानी क्षेत्रको दुई ठाउँमा तटवन्ध बगाएपछि नदी बस्तीमा पस्ने खतरा बढेको छ ।
नदीले तारजालीमा ढुंगा भरेर बनाएको तटबन्ध बगाइ सकेको छ भने किनारमा थपेको माटोले मात्रै नदी गाउँ पस्नबाट रोकिएको छ ।

बगेका तटवन्ध मध्ये एउटा यसै वर्ष गजुरमुखी सिद्धिसाई प्रकाश जेभीले निर्माण गरेको तटबन्ध र अर्को छ वर्ष अघि राजेन्द्र निर्माण सेवाले बनाएको थियो । गजुरमुखीले १४ करोडको लागतमा बनाएको एक हजार चार सय मिटरमध्ये सय मिटरभन्दा बढी बगेको छ, राजेन्द्र निर्माणले बनाएको ५० मिटर जति बगेको छ ।

ती दुवै तटवन्धका प्रोटेक्सन र तार जाली भत्काएपछि नदी गाउँ पस्नबाट रोक्न र तत्कालको क्षति टार्न बाँस, रुखका झालापाता, प्लाष्टिकका बोरामा बालुवा भरेर अस्थायी तटवन्ध बनाउन लागिएको ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।

हालै सशस्त्र प्रहरी वलका जवान र स्थानीयको सहयोगमा प्लाष्टिकको बोरामा माटो भर्ने र जैविक तटवन्ध बनाइएको थियो । तटबन्ध फुटेमा टीकापुर नगरपालिका वडा नं २, ५, ७ र ८ मा ठूलो नोक्सानी हुनेछ ।

रानी जमरा कुलरीया सिचाई परियोजनाका सिनियर डिभिजनल इन्जिनियर विदुरमान श्रेष्ठ कर्णालीमा तटवन्धको डिजाइन गर्दाको भन्दा फरक अवस्था आएकाले हाल निर्माण भैरहेका तटवन्ध भत्किन थालेको बताए ।

‘तटवन्ध डिजाइन गर्दा कर्णालीको पानी बग्ने फैलावट आठसय मिटरभन्दा बढी हुने अनुमान गरिन्छ तर अहिले केहीकेही ठाउँमा दुई सय मिटरमात्रै चौडाइमा नदी खुम्चिएर बग्दा तटबन्धले भार थाम्न सकेन’ इन्जिनियर श्रेष्ठ भन्छन्, ‘नदीका बिचमा ढुंगा बालुवा थुप्रिएर टापु बन्दैछन नदी किनारको ढुंगा, बालुवा उत्खनन गरेका ठाउँमा गहिरो बन्दैछ ।’

इन्जिनियर श्रेष्ठ स्थानीय तहले एक करोडको ढुंगा बालुवा बेचेर पाँच करोडको तटबन्ध बनाउनु पर्ने अवस्थाबाट मुक्त हुन वीचका टापूहरु उत्खनन गर्ने योजना ल्याउनुपर्ने बताए । कर्णाली कुलो प्रणालीकाका सचिव परशुराम महत्तौं पनि वीचमा थिग्रने र छेउछाउमा अनियन्त्रित र अत्याधिक उत्खनन गर्दा तटबन्ध भत्किरहेको बताउछन् ।

कर्णाली नदीमा ३५ किलोमिटर तटवन्ध गर्ने योजना भएपनि हालसम्म करिब २५ किलोमिटर तटवन्ध निर्माण भैसकेको छ । निर्माण सम्पन्न भएका अरुणाफाँटामा एक किलोमिटर, सनकट्टिघाटमा ५०० मिटर, जगतपुरमा ५०० मिटर र दौलतपुरघाटमा ५०० मिटर गरी साढे दुई किलोमिटर तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेको आयोजनाका सूचना अधिकारी पे्रम लासिवाले जानकारी दिए ।

रानी जमरा कुलरीया सिचाई आयोजनामार्फत कर्णाली नदी किनारमा तटवन्ध बनेपछि सुरक्षित हुने आशामा रहेका टीकापुरबासीलाई निर्माण भएका तटबन्ध पटकपटक भत्किदा झस्काउन थालेको स्थानीय तर्क बुढाको भनाई छ । बुढाका अनुसार तटबन्ध बनाउने निर्माण कम्पनीले त्यहीको ढुंगा गिट्टी उठाएर किनार तयार गर्ने र प्रोटेक्सन जाली पनि पातलो भएकाले अबौं लगानीमा बनेको तटबन्ध कमजोर भएको हो ।

कर्णाली नदी पूर्वमा गेरुवा र पश्चिममा कर्णाली गरी दुई भंगालोमा बग्ने गर्दथ्यो । एक दशक यता ८० प्रतिशत जति पानी पश्चिम भंगालोमा मात्रै बग्न थालेपछि कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा जोखिम बढेको छ ।

दुई साताअघि राजापुर नगरपालिकाको तिघ्रामा पनि तटवन्ध बगाएको थियो आजको गोरखापत्रमा समाचार प्रकाशित छ 



बिहिबार २५, भदौ २०७७ ११:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.