त्रिनगर नाकाबाट तीन महिनामा झण्डै लाखौ प्रवेश

युग संवाददाता     819 पटक पढिएको    

त्रिनगर नाकाबाट  तीन महिनामा झण्डै लाखौ  प्रवेश

 

धनगढी । कोही झोला बोकिरहेका थिए । कोही गाडिमा सामान राखिरहेका थिए त कोही गाडि मालिकसंग गन्तव्य स्थानसम्मको लाग्ने शूल्कका विषयमा जानकारी लिइरहेका थिए । कोही आफन्तसंग गफ गर्दै थिए भने कोही आफन्तहरुलाई खोजिरहेका थिए । कसैको अनुहारमा निरासा थियो त कोही चिन्तित थिए भने कोही थकित देखिन्थे । पछिल्लो समय कञ्चनपुरको डोकेबजारमा रहेको खुल्ला चौरमा यस्तै दृष्य देखिन्छन ।

सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी गरेको थियो । लकडाउनका कारण भारतबाट फर्किएका नेपालीहरु सीमामै अल्पत्र परेका थिए । ११ गते कैलालीको त्रिनगर नाकाबाट नेपालीहरु प्रवेश गरेपनि त्यसयता, एक महिना नाका पुरै बन्द गरिएको थियो । झण्डै एक महिनापछि सरकारले नेपाल आउन चाहने नेपालीहरुका लागि नाकाबाट प्रवेश दिन थाल्यो ।

त्यस यता कैलालीको धनगढी जोड्ने भारतको त्रिनगर नाकाबाट आफनो घर जाने सुदूरपश्चिमका बासिन्दा धमाधम प्रवेश गरिरहेका छन । झण्डै तीन महिनामा लाखौ सुदूरपश्चिमका बासीन्दा यो नाकाबाट प्रवेश गरेको जनाइएको छ । अहिले पनि दैनिक सरदर पाँच सय व्यक्तिहरु नाकाबाट प्रवेश गरिरहेको जनाइएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयले बिहिबार रातीदेखि कैलालीमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण कैलालीका बजार र टोलहरु सुनसान भएपनि नाकामा भने गन्तव्य स्थानसम्म पुग्ने चाहनासहित भारतबाट फर्कनेको लर्को जारी थियो ।

नाकामा एक जना ‘थर्मल गन’ ले आउने व्यक्तिहरुको ज्वरो जाँच गरिरहेका थिए भने खटिएका केही सुरक्षाकर्मीहरु उनीहरुको नाम, जाने स्थानका बारेमा जानकारी लिइरहेका थिए ।

कैलालीको त्रिनगर नाका भएर सुदूरपश्चिमका नौ वटै जिल्ला र कर्णाली तथा प्रदेश नम्बर ५ का नागरिकहरु पनि प्रवेश गरिरहेका छन । त्रिनगर भन्सार नाकामा सुरक्षामा खटिएका अमराज बुढाले प्रदेशका विभिन्न जिल्लाका तीन सय चार जना भित्रिएको जानकारी दिए । उनका अनुसार शुक्रबार कैलालीका ९४, कञ्चनपुरका ६०, डडेल्धुराका नौ, डोटीका ११, अछामका पाँच, बझाङका ८३, बैतडीका २६, दार्चुला र बाजुराका एक जना प्रवेश गरेका छन ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेतका नौ, प्रदेश नम्बर ५ को बाँके र वर्दिका एक÷एक जना नाकाबाट प्रवेश गरेको जनाइएको छ । नाकाबाट प्रवेश गरेकालाई सम्बन्धित जिल्ला पठाउन सवारी साधनको व्यवस्था गरिएको जनाइएको छ ।



शनिबार ०६, भदौ २०७७ ०९:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.