भारतीय पक्षले सिमामा सुरक्षाकर्मी बढाउदै

Yugnepal     992 पटक पढिएको    

भारतीय पक्षले सिमामा सुरक्षाकर्मी बढाउदै

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको संख्यामा सुरक्षाकर्मी बढाएको हो ।

अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको संख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ । सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्् ।

‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा आउँदैन थिए’, व्यास–२ का मुकेश बुढाथोकीले भने, ‘अहिले दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । भारतीय सुरक्षाकर्मीले तम्बाकु क्षेत्रमा असारमा नेपालतिर बाटो बनाउँदै गर्दा स्थानीयवासीलाई गालीगलौज गरेका थिए ।’

नेपाल सरकारले घाटीबगरमा नेपाली सेनाको क्याम्प राखेपछि भारतले आफनो क्षेत्रमा सडक चौडा पार्ने काम गरेको छ । भारतले उपकरण लगाएर यस क्षेत्रमा सडक विस्तार गरिरहेको स्थानीयवासी शेरसिंह धामीले जानकारी दिए । नेपाली सैनिक क्याम्प बसेको पारिपट्टि भारतले विस्फोटक पदार्थ विस्फोट गराउँदै आएको छ ।

भारतले लिपुलेक जोड्ने सडक निर्माण क्रममा तम्बाकु, घाटिबगर, दोपाखे, पोला, बुदी लगायतका क्षेत्रमा महाकालीबाट नेपाली भूभाग मार्फत् डोजर ल्याई आफनो क्षेत्रमा लगेर बाटो खनेको छ । नेपाली भूभागमा डोजर ल्याउँदा नेपाली पक्षसँग भारतले कुनै समन्वय गरेको थिएन । स्थानीयवासी जहेन्द्र धामी भन्छन््, ‘ठाउँठाउँमा नेपाल प्रवेश गराएर सडक खने । नेपाली सुरक्षाकर्मीको गस्ती आइदिएपछि राम्रो भएको छ ।’ नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित गुञ्जी, नावी र कुटी गाउँसहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतीय पक्षले यस क्षेत्रमा सुरक्षाकर्मी दैनिक परिचालन गरेको छ ।

अहिले गुञ्जीदेखि कालापानी, नावीढांगसम्म सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको त्यहाँका स्थानीयवासी बताउँछन्् । ‘भारतीय पक्षलाई अहिले यस क्षेत्र अति संवेदनशील भएको छ’, व्यासबासी भन्छन्् । भारतीयले अहिले कालापानीभन्दा तल आई नेपाली सुरक्षाकर्मी र स्थानीयवासीलाई आवतजावतमा रोक लगाउने गरेको छ । नेपालले व्यासको छांगरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म स्थापना गर्ने निर्णय गरेको छ ।

कालापानी नजिकैका कौवा र तिंकरमासमेत सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० स्थापना गर्दैछ । नेपाली सेना घोरेटोबाटो र सडक निर्माणका लागि भन्दै यस क्षेत्रमा शिविर राखेर बसेको छ । व्यासको छांगरुमै नेपाली सैनिकलाई राख्ने प्रस्ताव अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय र जिल्ला सुरक्षा समितिमार्फत गएको छ । प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘व्यास क्षेत्रमा सुरक्षाको अवस्था बलियो बनाउने गरी सेनाको समेत उपस्थिति हुन सक्छ । हामीले सीमा नाकालाई उच्च प्राथमिकतामा राख्दै जिल्लाबाट हुने गृहकार्य गरेर पठाएका छौँ ।’



बुधबार २१, साउन २०७७ ०६:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.