बाढी र पहिरोको डरले रातदिन बेचैन

Yugnepal     699 पटक पढिएको    

बाढी र पहिरोको डरले रातदिन बेचैन


 शेरबहादुर ऐर /अनुमोदन खबर

धनगढी । वरिपरीबाट घरमा चिरा परेको छ । घरको छेउमै रहेको गोठ पूर्ण रुपमा क्षतिग्रस्त छ । यो दृष्य कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ कट्रेनीका स्थानीय नरभान धामीको घरको हो ।

उनी २०७४ सालमा सोही वस्तीमा बस्दै आएका छन् । वस्तीमा बसेदेखि बाढी तथा पहिरोको समस्या नझेलेका उनी यस वर्षको लगातारको वर्षाका कारण पीडित भए । उनले भने– म तीन वर्षदेखि यही बस्दै आएको छु । तर, अचानक शुक्रबार राती पहिरो आउदा घरनै भत्किने अवस्था आयो ।

उनले राती पहिरोले चर्काउन थालेको थाहा पाएपछि नजिकको छिमेकीबाट सहारा मागे । उनले घरपरिवार र आफु सबैलाइ छिमेकीकोमा लगेर राखे । उनको एक छोरा र छोरी छन् ।

शनिबार दिउँसो हामी ९धनगढीका चार जना पत्रकार० पुग्दा उनको घर चर्किएको थियो । गोठमा गाइभैसी थिए । उनले घर देखाउँदै भने– अहिले छिमेकीको सहायतामा त्यही बसेको छु ।

सोही बस्तीका जग्गो धामीको घर पहिरोले घरको नै स्वरुप फेरेको छ । उनको घर पनि पहिरोले बगाएपछि विस्थापित भएका छन । उनको घरमा चार÷पाँच परिवार छन । उनले भने– परिवार बसेको घर कतिखेर पहिरोले लग्छ भन्ने चिन्ता बढेको छ ।

सोही वडाका धौले बोहराले भने– माथि र तलबाट दुवै ठाउबाट पहिरो गइरहेको छ । उनले सबै ठाउँबाट पहिरो गएपछि सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था गर्नुपर्ने बताए । २०५२ सालमा पहिरोका कारण सोही वस्ती बगाएको थियो । सो समयमा बस्ती बगाएपछि त्यहा रहेका कतिपय स्थानीयहरू खुटियामा गएर बसोबास गरेका छन् ।

स्थानीय धौलेले भने– हामीलाई न त त्रिपाल चाहिएको छ, न त चाउचाउ । हामीलाई सरकारले सुरक्षित बसोबास गराइदिओस ।

उनले बस्ती स्थानान्तरण गरि बाढी तथा पहिरोबाट जोखिममुक्त गराउन सरकारले कार्यक्रम अघि बढाउन आग्रह गरे ।

गत मंगलबारदेखि लगातार भएको वर्षाका कारण चुरे गाउपालिकाको कटे«नीमात्र नभई अन्य वस्ती पनि जोखिममा परेका छन् । कटे«नीका २९ घरका १५१ जना विस्थापित हुनुपर्ने अवस्था आएको चुरे गाउँपालिकाका प्रवक्ता नरबहादुर तामाङले बताए ।

उनका अनुसार कटे«नीसंगै गाउँपालिकाको वडा नम्बर ५ मै रहेको राजवनका नौ घरपरिवार र गुणीगाउँका आठ घरपरिवार विस्थापित हुनुपर्ने अवस्था आएको बताए । उनका अनुसार सिमरगैराका आठ घर पूर्ण रुपमा विस्थापित भएका छन ।

उनले भने– बस्ती स्थानान्तरण नगरेसम्म समस्या समाधान हुदैन । उनले जोखिममा रहेका वस्तीहरूको स्थानान्तरण गर्नुपर्ने बताए । प्रवक्ता तामाङको अनुभवमा– बस्तीहरूमा पहिरोको समस्या बढ्नुको मुख्य कारण व्यापक वन विनास नै हो ।

यस वर्षको झरीपछि आएको पहिरोले चुरे गाउँपालिकाकै वडा नम्बर ५ को गुणीगाउँका आठ वटा घर बगाएको छ । सो घरमा रहेका परिवार सकुसल रहे पनि कहाँ बसोबास गर्ने भन्ने चिन्ता भने बढेको छ । गुणीका नरि बोहराले भने– हामीलाई दाल चामल, त्रिपाल चाहिएको छैन । हाम्रो स्थायी बसोबास होस ।

पहिरो पीडितलाई राहत सामग्री
चुरे गाउँपालिकाको दुई वडामा पहिरोले प्रभावित पारेपछि त्रिपाल लगायतको सामग्री वितरण गरिएको छ ।

शनिबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पहिरो पीडितलाई राहत सामग्री हस्तान्तरण गरे । सो अवसरमा गाउँपालिका वडा नम्बर ५ का पाँच परिवारलाई त्रिपाल र अन्य १५ परिवारलाई गैरखाद्य सामग्री प्रदान गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगर, नेपाल रेडक्रस सोसाइटी, कैलालीका सहकोषाध्यक्ष गोविन्दप्रसाद जोशी, सदस्य गिता सोडारी लगायतको उपस्थिति रहेको थियो ।



आइतबार १८, साउन २०७७ ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.