नक्कली’ को घरमा सक्कली हलिया

Yugnepal     924 पटक पढिएको    

नक्कली’ को घरमा सक्कली हलिया


दुर्गा उपाध्याय
कञ्चनपुर– जानकी लावड विगत एक वर्षदेखि भीमदत्त नगरपालिका –१९ बागफाँटास्थित मुक्त हलिया शिविरमा बस्दै आएकी छन् । उनी सरकारले पुर्नस्थापना गरेपछि आफ्नै घरमा बसेकी होइनन्, बरु अर्कैको घरमा आश्रय लिएर बसेकी हुन् ।

जानकी बस्ने घर धनबहादुर विकको हो । विक पनि जानकीसँगै २०६५ सालमा मुक्त भएका हलिया हुन् । उनी पुर्नस्थापनाका लागि सरकारले लिएको लगतमा ‘क’ वर्गमा पर्न सफल भए । तर धन बहादुरसँगै फारम भरेकी जानकीको भने अहिलेसम्म मुक्त हलियाको लगतमा नाम पर्न सकेको छैन ।

पार्वती लुहार पनि अहिले त्यहि शिविरमा रहेको संगिता लुहारको घरमा बस्छिन् । ससुरा, श्रीमान र तीन छोराछोरीसहित बस्दै आएकी उनले पनि पुर्नस्थापनाका लागि पटक–पटक फारम भरिन । सँगै फारम भरेका अरु साथीहरुको नाम लगतमा पर्यो र घरजग्गा पनि पाए । तर जानकीको जस्तै उनको पनि अहिलेसम्म कुनै व्यवस्थापन हुन सकेको छैन् । घरमा बसे वाफत मासिक एक हजार पाँच सय रुपैयाका दरले संगिता लुहारलाई भाडा तिरेको उनले बताइन् ।
‘म बसेको त कति नै भएको छ र रु बल्ल एक हप्ता भयो,’ उनले भनिन्, ‘त्यसको पनि अस्ति भर्खर पन्ध्र सय रुपैया तिरे ।’

१२ वर्षसम्म लगत छैन
बाबुबाजेको ऋण चुक्ता गर्न नसकेर वर्षौदेखि हलिया बस्दै आएका दलित परिवारलाई सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्त गरेको थियो ।

सरकारले हलिया मुक्ति गरेसँगै उनीहरुको लगत लिने काम पनि गर्यो । तर, २०६५ सालदेखि फारम भरेपनि जानकीको नाम भने अहिलेसम्म सरकारको लगतमा पर्न सकेको छैन् । उनले सरकारले नक्कली हलियालाई घरजग्गा दिएकाले वास्तविक हलिया मारमा परेकोे गुनासो पोखिन । ‘सुनेकी छु सरकारले नक्कली हलिया बनाएर घरजग्गा दिएको छ,’ उनले भनिन्, ‘मेरा बालबच्चा पहिले पनि सडकमा थिए, अहिले पनि सडकमै छन् ।’

भूमी सुधार तथा मालपोत कार्यालयका अनुसार कञ्चनपुरमा दुई हजार पाँच सय १६ परिवारको लगत संकलन गरिएको छ । जसमध्ये एक हजार ९ सय ९१ परिवारले परिचय पत्र पाएका छन् ।
कार्यालयका अनुसार ‘क’ वर्गको परिचय पत्र पाउने तीन सय ५६ परिवार, ‘ख’ वर्गको परिचय पत्र पाउने सात सय २८, ‘ग’ वर्गको परिचय पत्र पाउने ६३ र ‘घ’ वर्गको परिचयपत्र पाउने छ सय १९ रहेका छन् । यस्तै, १ सय ८१ परिवारको थप निर्णयबाट ‘ख’ र ‘घ’ वर्गका लागि कायम भएको भूमी सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले जानकारी दिए ।


धेरै बन्द, केहि बेचिएका छन् हलियाका घर
भीमदत्त नगरपालिका १९ बागफाँटामा सरकारले ३५ परिवारका लागि एक कठ्ठा जमिनका दरले बसोबासको व्यवस्था गर्यो । ३५ मध्ये ३२ घर निर्माण सम्पन्न भएर हलिया परिवारलाई हस्तान्तरण गरि सकिएको छ । जसमध्ये १४ वटा घर पूर्ण रुपमा बन्द छन् । ४ वटा घर भाडामा दिइएको छ । एउटा घर बेचिएको छ भने अन्य ४ वटा घरलाई दाइजोका रुपमा आफन्तलाई दिइएको स्थानीयको भनाई छ ।

मुक्त हलिया भनेर सरकारले गैर हलियालाई पुर्नस्थापना गरेकाले अधिकांश घरहरु बन्द अवस्थामा रहेको बागफाँटास्थित मुक्त हलिया शिविरका स्थानीय मदन दमाइले गुनासो गरे । ‘हामीसँग तरकारी लगाउने जमिन पनि छैन, हेर्नुस् न यि घरहरु बनेदेखि नै बन्द छन्,’ बन्द घरहरु गन्दै उनले भने, ‘एकजनाले त अर्कैलाई बेचेर गइसक्यो, चार वटा घर अहिले भाडामा छन् ।’

सरकारले दिएको घरजग्गा समेत बेच्ने र भाडामा दिएर अन्तै बस्ने गरेको पाइएपछि मुक्त हलिया परिवारले नै त्यसको विरोध गरेका छन् । सरकारले बन्द अवस्थामा रहेका घरमा मर्कामा परेका हलिया परिवारलाई व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
‘कसैले अन्त घर हुँदा हुँदै पनि सरकारको लगतमा नाम परेर यता पनि घरजग्गा पाए,’ स्थानीय प्रकाश पार्कीले भने, ‘कोहि घर नहुँने तिनैका घरमा पैसा तिरेर बस्नु परेको छ, सरकारले अनुगमन गरेर यि घर नहुँनेलाई दिनुपर्छ ।’

बेच्न पाइदैन
उसो त, सरकारले मुक्त कमैयाका हकमा बेचविखन तथा हस्तान्तरण गर्न नपाइने निर्णय गरेपनि हलियाहरुको हकमा भने मन्त्री परिषद्ले कुनै किसिमको निर्णय गरिएको छैन् । जसले गर्दा हलिया परिवारले पनि जग्गा बेच्न सक्ने सम्भावना देखिएको छ । तर भूमी सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका मालपोत अधिकृत खेमराज खत्री भने सरकारले भूमीहिन भनेर दिएको जग्गा बेचविखन गर्न नपाइने बताउछन् । ‘सरकारले त्यो घर जग्गा बस्नका लागि दिएको हो,’ उनले भने, ‘व्यवहारिक रुपमा कसैले किनबेच गरेपनि कानुनी रुपमा त्यसको किनबेच गर्न पाइदैन ।’

फेरिएन जीवन
साहुबाट लिएको सीमित ऋण तिर्न नसकेर वा दुई छाक खानाको जोहो गर्न हलिया बसेकाहरूलाई सरकारले मुक्त भएको घोषणा गरेको पनि १२ वर्ष पुरा हुँदै छ । शोषणमा परेका र पारिएका हलियाहरूले धेरै पटक हलो नै बोकेर सिंहदरबार पुगेरै अधिकार पुनस्र्थापना गरे । तर, उनीहरूका मुक्ति पछिका दिनहरू भने अझै फेरिएका छैनन् ।

सरकारले हलिया पुनस्र्थापना अन्तर्गत कञ्चनपुरमा २ सय १६ जनालाई घर जग्गा खरिद र घर मर्मत गरिदिएको छ । साहुको झुप्रोमा बस्दै आएका उनीहरुमध्ये केहि हलिया परिवार अहिले सरकारले दिएको आफ्नै घरमा बसेका छन् भने कतिपय घरहरु अझै बन्न बाँकी नै छन् । दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरु कोभिड–१९ का कारण भने निकै समस्यामा परेका छन् । महेन्द्रनगरपोष्टबाट साभार



शुक्रबार ०९, साउन २०७७ ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.