सुदूरपश्चिममा पाँच जना कोरोना संक्रमित थपिए

Yugnepal     850 पटक पढिएको    

सुदूरपश्चिममा पाँच जना कोरोना संक्रमित थपिए

 

धनगढी । सुदूरपश्चिममा ४० दिनपछि थप पाँच जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखिएको छ । नयाँ संक्रमित सबै पुरुष रहेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलालीमा तीन, बैतडी एक र डडेल्धुराका एक जनामा गरी पाँचजनामा कोरोना संक्रमण देखिएको हो । धनगढी प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पाँचै जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

यसरी रिपोर्ट पोजेटिभ आउनेमा कैलालीको जानकी गाउँपालिका वडा नम्वर ४ र ७ का १९ वर्षीय, २३ वर्षीय र २६ वर्षीय पुरुष रहेका छन् । उनीहरु इटहरी, बाँके र भारतबाट लुकीछिपी आएको खुलेको छ ।

जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोका अनुसार वडा नम्वर ४ का संक्रमित जेठ १ गते भारतको कालाकुण्डा नाका हुँदै आएका थिए । वडा नम्वर ७ का दुई जना संक्रमित मध्ये एक जना वैशाख ३० गते इटहरी र एक जना जेठ ३ गते बाँकेबाट आएका थिए । उनीहरु स्थानीय सरस्वती माविको क्वारेन्टिनमा बसेका थिए ।

त्यस्तै, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय एक जना पुरुष र बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का एक जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । डडेल्धुराका संक्रमित स्थानीयस्तरमै रहेको र बैतडीका संक्रमित भारतबाट आएका हुन् ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १० पुगेको छ । यसमध्ये पाँचजना यसअघिनै कोरोना निको भएर घर फर्किसकेका छन् ।

उनीहरुलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।

२४ शैयाको मात्रै आइसोलेसन क्षमता रहेको यो अस्पतालको आइसोलेसनमा अहिले शंकास्पद २२ जना बिरामी रहेका छन् । संक्रमितलाई अस्पतालको आईसियूमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए ।

थुनुवामा रहेकामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल
जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक जनालाई कोरोना संक्रमण देखिपछि प्रहरी कार्यालय नै सिल गरिएको छ ।

कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय नै सिल गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी दिल्ली नारायण पाण्डेयले जानकारी दिए ।

पाण्डेयले उनलाई वैशाख १५ गते पक्राउ गरेको बताए । उनी चैत ६ गते भारतबाट नेपाल आएका थिए ।



शुक्रबार ०९, जेठ २०७७ ०७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.