संन्चारलाई नियन्त्रण गर्ने सरकारको हर्कत अस्वीकार्य – सभापति देउवा

विश्व प्रेस स्वतन्त्रता दिवस

Yugnepal     867 पटक पढिएको    

संन्चारलाई नियन्त्रण गर्ने सरकारको हर्कत अस्वीकार्य – सभापति देउवा


नेपाली पत्रकारिता र पत्रकारको काम गर्ने वातावरण बनाउन माग गर्दैै सरकारलाई खवरदारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली पत्रकारिता र पत्रकारको काम गर्ने वातावरण बनाउन माग गर्दैै सरकारलाई खवरदारी गरेको छ । 

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीलाई हार्दिक शुभकामना र बधाई दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले 
पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको भएको र त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको रहेको बताएका छन् । 

देउवाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘लोकतान्त्रिक ब्यवस्थामै स्वतन्त्र प्रेस संभव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा बिशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु’, भनिएको छ ।  

त्यस्तै विज्ञप्तिमा, यस वर्ष युनेस्कोले तय गरेको नारा ‘भयमुक्त र पक्षपातरहित पत्रकारिता’ अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको हो भने त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको हो । प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टी राख्न मिल्दैन ।’ भनिाएको छ । 

सरकारको रवैयाप्रति इंकित गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने रु  वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रुपले अपील गर्न चाहन्छु ।’

पत्रकार र मिडियाबारेको समस्याबारे बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार र मिडिया यतिबेला दुई खालका चुनौतीबाट गुज्रिरहेका छन् । कोभिड १९ को बिश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको ब्यवहारिक ब्यवस्थापनमा चुनौती ल्याएको छ । बिज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसविचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् ।’

सरकारसंग पत्रकारको हितका लागि माग गर्दै विज्ञप्तिमा, ‘अतः कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न म सरकारसंग आग्रह र माग गर्दछु । जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु ।’ भनिएको छ ।

सरकारको कदमको विरोध गर्दै विज्ञप्तिमा  ‘महामारीको मौका हेरेर प्रेसको स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ । यसका केही संकेत सरकारका अभिव्यक्ति र ब्यवहारमा देखिएका छन् । संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छंदैथिए । लक डाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ । लोकतन्त्रको पहरेदारका रूपमा रहेको मुलुकको चौथो अंगमाथि कुनै पनि ढंगले नियन्त्रण गर्न खोज्ने हर्कत अस्विकार गर्दै नेपाली कांग्रेस सदैव त्यस विरुद्ध प्रखर रुपले उभिने छ ।’

देउवाको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउंदै आजको नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा एक्यवद्धता प्रकट गर्दै विश्व प्रेस स्वतन्त्रता दिवसमा स्वदेश र बिदेशमा रहेका सबै नेपाली संचारकर्मी र संचारमाध्यमलाई फेरि पनि बधाई र शुभकामना व्यक्त गर्दछु ।’



आइतबार २१, बैशाख २०७७ १०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.