रामपुरमा जग्गाधनी पुर्जा वितरणका लागि निवेदन माग

Yugnepal     627 पटक पढिएको    

रामपुरमा जग्गाधनी पुर्जा वितरणका लागि निवेदन माग

पाल्पा । लालपुर्जा विहिन रामपुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका लालपुर्जा विहिन जग्गाको पुर्जा वितरणका लागि सर्बसाधरणलाई निवेदन माग गरिएको छ । जग्गा दर्ता समिति मार्फत सर्बसाधरणलाई सुचना जारी गरिएको जग्गा दर्ता समितिका सदस्य तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ महिना अघि जग्गा दर्ता समिति गठन गरि यसको प्रक्रिया अघि बढाइएको थियो । प्राबधान अनुसार प्रजिअको संयोजकत्वमा रामपुर नगरपालिकाका नगर प्रमुख, बन कार्यालयका प्रमुख, नापी प्रमुख र मालपोत प्रमुख रहेको गठित समिति छ ।

गत साउन १९ गते बसेको जग्गा दर्र्ता समितिको निर्णय अनुसार वास्तविक जग्गा खरिद गरि हाल सम्म बसोवास वा भोगचलन गर्दै आएका जग्गाहरु दर्ताका लागि नगरपालिकाको विशेष पहल र सक्रियतामा मालपोत कार्यालयले सुचना जारी गरेको हो । साउन २६ देखि ३५ दिने सुचना निकालेका छौं, नगर प्रमुख थापाले भने–‘‘आबश्यक कागजात सहित त्यस्ता निवेदकले वडाको सिफारिस लिएर मालपोत कार्यालयमा निवदेन दिन सक्नुहुनेछ ।’’ झण्डै ३ दशक अघिदेखि पुर्जा विहिन बजार क्षेत्रका नागरिकलाई आफ्नै जग्गाधनी प्रमाणपत्र वितरण गर्न हामी आतुर छौ– थापाले भने । नगरपालिकाले यस प्रक्रिया र कामको लागि ११ लाख ३० हजार रुपँया समेत विनियोजन गरेको उहाँले बताए ।

तत्कालिन रामपुर गाँउ पञ्चायत, साविक रामपुर गाँउ विकास समिति, विभिन्न विद्यालय, क्याम्पस र प्रहरी कार्यालयले साविक रामपुर गाविस भित्रको बिक्री गरेको जग्गाको सम्बन्धमा अहिले प्रक्रिया अगाडी बढाइएको हो ।

 समितिले यसका लागि रामपुर नगरपालिका अन्तर्गत जग्गा दर्ता सम्बन्धी आन्तरिक कार्यविधि २०७६ समेत बनाएर काम थालेको हो । यही कार्यविधिका आधारमा समितिले सम्बन्धित सर्बसाधारणलाई सार्वजनिक सुचना गरेको हो । तत्कालिन रामपुर गाविस वडा नम्बर ४,५,६,७ र ८ हालको रामपुर नगरपालिका वडा नम्बर ५,६ र ७ का यस्ता जग्गाको लागि अहिले निवेदन माग गरिएको हो । यस्ता खरिद गरि पुनः बिक्री गरेको जग्गाको हकमा पनि खरिद बिक्री गरेका कागज प्रमाण साथै सम्बन्धित व्यक्तिलाई उपस्थित हुन आह्वान गरेको छ । यसअघि नगरपालिकाका सबै वडाको निवेदन माग गरि नगरपालिकामा सङ्कलन गरिएपनि पहिलो चरणमा पुर्जा विहिन बढी घडेरी रहेका साविक रामपुरका नागरिकको सिफारिस सहित निवेदन माग गरिएको छ ।

रामपुर नगरपालिका भित्र व्यवस्थित शहरीकरणका लागि पनि अहिले नगरपालिकाले पुर्जा वितरणलाई प्राथमिकता दिदै निवेदन सङ्कलनदेखि सिफारिस गर्ने प्रक्रियालाई अगाडी बढाएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले बताए । समितिले आह्वान गरेअनुसार रामपुर गाविसलाई मात्र निवदेन मागिएको छ अर्यालले भने–त्यसैले नगरका वडा नम्बर ५, ६ र ७ नम्बर वडा कार्यालयलाई जग्गा दर्ताको लागि सिफारिस गर्न परिपत्र गरेका छौ । निवेदकले निर्धारित ढाँचामा सिफारिस सहित सुचना जारी भएको ३५ दिनभित्र अर्थात् आगामी भदौ २८ गतेभित्र जग्गा दर्ता समितिको कार्यालयमा निवेदन पेश गरिसक्नुपर्नेछ । यसअघि वि।स। २०५७ सालमा तत्कालिन रामपुर गाविसले रामपुर गाविस भित्रका पुर्जा विहिन जग्गाको लगत सङ्कलन अद्यावधिक गर्दा ८ सय बढी त्यस्तो जग्गा रहेको थियो । यसअघि सुकुम्बासी समस्या आयोगले माग गर्दा १० वटै वडाको ८ सय ५६ निवेदन परेको थियो । यहाँ ४५ बर्षदेखि रसिदको भरमा जग्गा भोगचलन गर्दै आएका छन् । २०२९ सालमा पहिलो पटक स्कुलले घडेरी बिक्री गरेको थियो त्यसयता २०५५ सालसम्म रसिदको भरमा ती जग्गा बिक्री भएका हुन् ।

तोकेको समयावधिभित्र समितिमा आएका यस्ता निवदेन माथि छानविन गरि एकिन लगत अद्यावधिक गर्ने, जग्गा नापजाच ऐन २०१९ र जग्गा नापजाच नियमावली २०५८ बमोजिम नापनक्सा तथा फिल्डबुक तयार गर्ने यसरी तयार जग्गाको सार्वजनिक सुचना जारी गरि चित्त नबुझेको खण्डमा त्यसउपर निवदेन हाल्ने म्याद निकालिने र दावी विरोधको समय सार्वजनिक सुचना जारी गर्ने गरि कार्यविधि ल्याएको छ । त्यसलगत्तै स्थानीय तहको रहोवरमा सर्जमिन मुचुल्का तयार गरिनेछ । आबश्यक प्रक्रिया र प्रमाण पुगेका निवेदकमाथि जग्गा दर्ता सम्बन्धमा निर्णयको लागि जग्गा दर्ता समितिमा पेश गरिनेछ । जग्गा दावी विरोध परेमा रामपुर नगरपालिका जग्गा दर्ता समिति गठन आदेश २०७५ अनुसार समितिले निर्णय लिनेछ ।

जग्गा दर्ताको लागि निर्णय भएका निवेदकको नियमअनुसारको राजश्व लिई जग्गा दर्ता गरिनेछ । ती दर्ता भएका जग्गाधनीलाई प्रमाणपुर्जा तथा से्रस्ता तयार गरि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिनेछ । नगरपालिकाले आगामी मंसिर सम्ममा लालपुर्जा वितरण गरिसक्ने गरि काम अगाडी बढाएको जनाएको छ । तयार नक्सा तथा फिल्डबुक प्रमाणित गरि नापी कार्यालयमा र तयार भएका से्रस्ता फाइल, निर्णय हुन बाँकी फाइल, काजजात र बिवरण मालपोत कार्यालयलाई हस्तान्तरण गरिनेछ ।

रामपुर नगरपालिकाले यही कामका लागि विहान ९ बजेदेखि साझँ ६ बजेसम्म कार्यालय समय खोलेको जनाएको छ । बर्षौदेखि नागरिकको माग भैरहेको र आफ्नो धनले किनेर पनि आफ्नो बनाउन नपाएको जग्गाको जग्गाधनी प्रमाणपत्र पुर्जा लिन आतुर नागरिकलाई सहज होस् भनेर कार्यालय समय थप गरिएको नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । विशेष गरि कार्यालयको नियमित कामसँगै नगरको महत्वको रुपमा लिइएको पुर्जा वितरण प्रक्रियाका काममा नागरिकलाई सरल, सहज सेवा र भिडभाड पनि हुनसक्ने भन्दै कार्यालय समय थप गरिएको नगरपालिकाले जनाएको छ । लामो समयसम्म समस्याका रुपमा रहेको घडेरीको पुर्जा वितरण पछि विकासको गति तिव्र हुने थापाको भनाई छ ।



सोमबार ०९, भदौ २०७६ ०४:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.