मालपोत र यातायात कार्यालय परिसरबाट १२ जना पक्राउ

युग संवाददाता     36 पटक पढिएको    

मालपोत र यातायात कार्यालय परिसरबाट १२ जना पक्राउ

 


धनगढी । कैलालीका दुई प्रमुख सरकारी सेवा कार्यालय वरिपरि बिना अनुमति लेखापढी व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिमाथि प्रहरीले कारबाही थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मालपोत कार्यालय कैलाली र यातायात व्यवस्था कार्यालय धनगढी परिसरबाट १२ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ ।


प्रहरीका अनुसार अनुगमनका क्रममा सेवाग्राहीलाई प्रभावमा पार्दै बिना लाइसेन्स लेखापढी तथा कागजी काम मिलाइदिने कार्य गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । मालपोत कार्यालय बाहिरबाट ५ जना र यातायात व्यवस्था कार्यालय धनगढी बाहिरबाट ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ९प्रवक्ता० योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सो कार्यालयहरुमा केही अनाधिकृत ब्यक्तीहरुले सरकारी कार्यालयको काम छिटो गरिदिने, प्रक्रिया सजिलो बनाइदिने भन्दै असुलिको आरोप गुनासो बढेको थियो । । यस्ता गतिविधिले सेवाग्राही ठगिने जोखिम बढाउनुका साथै सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने भएकाले निगरानी कडा पारिएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेकाहरूको नामावली प्रमाणीकरण गर्ने प्रक्रिया जारी रहेको छ भने उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।


प्रहरीले सेवाग्राहीलाई कुनै पनि कामका लागि बिचौलियाको सहारा नलिन र सम्बन्धित कार्यालयमै प्रत्यक्ष सम्पर्क गर्न आग्रह समेत गरेको छ । साथै, यस्ता अवैध गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अपिल गरिएको छ । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता गर्नेलाई कडा निगरानी गर्न थालेको छ ।



बिहिबार १९, चैत २०८२ ०२:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal