बाजुरा–हुम्ला सीमा विवाद घटना : उच्चस्तरीय छानबिन गर्न गृह मन्त्रालयलाई सिफारिस

युग संवाददाता     55 पटक पढिएको    

बाजुरा–हुम्ला सीमा विवाद घटना : उच्चस्तरीय छानबिन गर्न गृह मन्त्रालयलाई सिफारिस

 

धनगढी  बाजुरा र हुम्लाको सिमाना हिमाली गाउँपालिका–३, मा भएको विवादको विषयमा बिहीबार बाजुरा जिल्ला प्रशासनका सर्वदलीय बैठक बसेको छ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । जसमा घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए।

‘लामपाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका बासिन्दाले बाजुराका स्थानीय बासिन्दा तथा पर्यटकलाई कुटपिट तथा लुटपाट गरेको सन्दर्भमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भने ।


मार्तडीमा बसेको बाजुराका सरोकारवालाहरूको बैठकले घटनाको सम्बन्धमा पाँच वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । उक्त बैठकमा हुम्ला पक्षको उपस्थिति नरहे पनि बाजुराका राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यस्तै सुरक्षाको प्रत्याभूति दिने विषयमा पनि छलफल भएको छ । उनका अनुसार, हिमाली गाउँपालिका–३ मा र रानीसैन यात्रामा रहेका आन्तरिक पर्यटकहरूको सुरक्षाका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मीको पर्याप्त उपस्थिति गराउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय भएको छ ।

‘विवादको प्रमुख कारण रहेको लामपाटामा अस्थायी प्रहरी पोस्ट निर्माणको कार्यलाई अविलम्ब सुरु गर्ने र त्यसका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको छ,’पुडासैनीले भने ।

उनका अनुसार, प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका बासिन्दाहरूले बाजुराका स्थानीय बासिन्दालाई कुटपिट गरेको विषयलाई लिएर कर्णाली करिडोरको हिमाली गाउँपालिका लगायतका क्षेत्रहरूमा सवारी साधन सञ्चालनमा रोक नलगाई निर्बाध रूपमा सवारी आवागमनमा सहजीकरण गर्न सम्बद्ध सबै पक्षसँग संवाद र समन्वय गर्ने र बाजुरा र हुम्ला जिल्लाको आपसी सद्भावलाई कायम राख्दै घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन आवश्यक सहयोग एवं समन्वयका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग र सहजीकरण गर्ने निर्णय भएको छ।
मङ्गलबार साइपाल हिमालको आधार शिविर रानीसैन क्षेत्रको सीमा विवादका कारण बाजुरा र हुम्लाका स्थानीयबिच झडप भएको छ । लामो समयदेखि सीमा विवाद रहेको रानीसैन र लाम्पाटा क्षेत्रमा बाजुरा प्रशासनले प्रहरी चौकी निर्माण सुरु गरेपछि विवादले उग्र रुप लिएको हो।

बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले साङ्घातिक आक्रमण गर्दा ६ जना घाइते भएका छन्।घाइतेलाई बुधबार घाइतेमध्ये गम्भीर अवस्थाका तीन जनालाई काठमाडौँ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनी बताए।

साथै, धनगढीका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा रहेको ३० जनाको टोलीलाई स्थानीय युवाहरूले चुची खोलासम्मै लखेटेर आक्रमणको प्रयास गरेका थिए । नगर प्रहरी र सुरक्षाकर्मीले मेयर हमाललाई जोगाउन सफल भए पनि स्थानीयले आवागमन अवरुद्ध गर्न खोलाको काठेपुल समेत आधा भत्काइदिएका छन्।

साथै, केहीलाई बन्धक बनाइएका जस्ता विवरण पनि आएका छन् । ती विषयमा अब छानबिन समितिले अध्ययन गर्ने छ । सोही अनुसार कानुनी कारबाही गर्ने निर्णय बिहीबारको सर्वदलीय बैठकमा भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए।

 

 



शुक्रबार ०८, जेठ २०८३ ०६:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal