धनगढीका सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा ९ बाट बढेर ३१ प्रतिशत

युग संवाददाता     279 पटक पढिएको    

धनगढीका सामुदायिक विद्यालयको कक्षा ८ को नतिजा ९ बाट बढेर ३१ प्रतिशत

 

धनगढीः धनगढीमा कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ। सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको हो।

गत वर्ष परीक्षामा सहभागी भएका मध्ये पहिलो चरणमा ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए। यो वर्ष भने सामुदायिक विद्यालयबाट पहिलो चरणमा ३१ प्रतिशत विद्यार्थी सफल भएका हुन्। गत वर्ष १७ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएकोमा यो वर्ष कुनै पनि सामुदायिक विद्यालयको नतिजा शून्य छैन। शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक आएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए। ‘यो वर्ष गत वर्षको तुलनामा कक्षा ८ को परीक्षाको नतिजामा सुधार देखिएको छ। यो वर्षको नतिजालाई सन्तोषजनक भन्न मिल्छ,’ खातीले भने।

यो वर्ष धनगढीका ४२ वटा सामुदायिक विद्यालयका ३ हजार ५२४ विद्यार्थी कक्षा ८ को वार्षिक परीक्षामा सम्मीलित भएका हुन्। परीक्षामा सम्मिलित भएका मध्ये एक हजार ९० जना विद्यार्थी आधारभूत तहको पहिलो चरणको परीक्षामा सफल भएका छन्। ‘गत वर्ष ९ दशमलव ४७ प्रतिशत विद्यार्थी मात्रै पहिलो चरणमा सफल भएकोमा यो वर्ष ३१ प्रतिशत विद्यार्थीले कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड हासिल गरेका छन्। गत वर्षदेखि परीक्षा सञ्चालन, परीक्षण तथा नतिजा प्रकाशन व्यवस्थित भएकाले यो वर्ष नतिजामा पनि सुधार भएको छ,’ शिक्षामा महाशाखा प्रमुख खातीले भने।

धनगढीका सामुदायिक विद्यालयमा अधिकतम ६७ दशमलव १० र न्यूनतम ७ दशमलव ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढी–१६ को बेहडाबाबा माध्यमिक विद्यालयका सर्वाधिक ६५ दशमलव ७८ प्रतिशत विद्यार्थी पास भएका छन्। बेहडाबाबा माध्यमिक विद्यालयका ७६ मध्ये ५१ जना विद्यार्थी पहिलो चरणमै उत्तीर्ण भएका हुन्। धनगढी–३ को त्रिभुवन माध्यमिक विद्यालयको ६० प्रतिशत नतिजा आएको छ भने सिद्धनाथ माध्यमिक विद्यालय जुगेडाका ५८ दशमलव ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसैगरी, राष्ट्रिय माध्यमिक विद्यालय उर्माबाट ५५ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो वर्ष शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गर्दा नतिजामा सुधार भएको ठम्याइ शिक्षा महाशाखा प्रमुख खातीको छ। ‘गत वर्ष शून्य नतिजा हासिल गरेका विद्यालयहरूको परीक्षा नतिजा निकै राम्रो आएको छ,’ उनले भने, ‘दिवा छात्रावास तथा अतिरिक्त कक्षा समेत चलाएर वर्षभरी पठनपाठन गरिएकाले गत वर्ष कमजोर देखिएका विद्यालयमा व्यापक सुधार भएको छ।’

गत वर्ष शून्य नतिजा हासिल गरेको धनगढी–१२ जुगेडाको दुर्गा आधारभूत विद्यालयको यो वर्ष उत्तीर्ण प्रतिशत बढेर ५१ दशमलव ४२ प्रतिशत पुगेको छ।

यस्तै, शून्य नतिजा आएको धनगढी–१० जुगेडाको जनकल्याण माध्यमिक विद्यालयका ४८ दशमलव ८७ र धनगढी–१३ श्रीलंकाको नवज्योति आधारभूत विद्यालयका ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सामुदायिक र संस्थागत विद्यालयबाट आधारभूत तहको परीक्षामा सम्मीलित भएका ५ हजार ९३६ विद्यार्थी मध्ये ३ हजार ६१ जना विद्यार्थी पहिलो चरणमै पास भएका छन्। जुन कुल परीक्षामा सम्मीलित संख्याको ५२ प्रतिशत हो। गत वर्षदेखि धनगढीमा आधारभूत तहको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालिएको हो।

यो वर्ष उपमहानगरपालिकाले नियमित विद्यालयको अनुगमन गरेको, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीले समेत मेहनत गरेकाले नतिजामा सुधार आएको भनाइ शिक्षा महाशाखा प्रमुख खातीको छ। ‘परीक्षा नतिजा सुधार हुनुमा सबै पक्षको योगदान रहेको छ। अभिभावकले पढ्न प्रेरित गरेको, शिक्षकहरूले निकै मेहनत गरेको तथा उपमहानगरपालिकाले समेत अनुगमन र निरीक्षण गरेकाले नतिजामा सुधार आएको हो,’ उनले भने, ‘सबै पक्षको कारण यो वर्ष नतिजामा सुधार आएको छ।’

धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा सुधार ल्याउन नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम समेत लागु गरेको छ। यो वर्ष सामुदायिक विद्यालयहरूले दिवा छात्रावास र अतिरिक्त कक्षा सञ्चालन गरेरसमेत  पठनपाठन गराएकाले आधारभूत तहको नतिजामा सुधार आएको उपमहानगरपालिकाले जनाएको छ।



बिहिबार २९, चैत २०८० ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.