निर्माण क्षेत्रमा ‘आपतकाल’— कैलालीका व्यवसायी आक्रोशित

युग संवाददाता     51 पटक पढिएको    

निर्माण क्षेत्रमा ‘आपतकाल’— कैलालीका व्यवसायी आक्रोशित

 


धनगढी  निर्माण व्यवसायी संघ कैलालीले इन्धन तथा निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ।
संघले आइतबार पत्रकार सम्मेलन गर्दै डिजेल, पेट्रोल, मटितेललगायत इन्धन तथा सिमेन्ट, डण्डी, बिटुमिन जस्ता निर्माण सामग्रीमा लगातार भएको मूल्यवृद्धिले निर्माण उद्योग नै धरासायी हुने अवस्थामा पुगेको जनाएको हो।


पत्रकार सम्मेलनमा संघका अध्यक्ष टेक मल्लले मूल्यवृद्धि र सामग्री अभावका कारण अधिकांश निर्माण कार्य प्रभावित भएको बताए।

उनले भने, “इन्धन र निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धिले निर्माण व्यवसायीहरू ठूलो आर्थिक भारमा परेका छन्। यस्तो अवस्थामा निर्माण क्षेत्र बचाउन सरकारबाट तत्काल ठोस निर्णय आवश्यक छ।”


यस्तै, निर्माण व्यवसायी महासङ्घका केन्द्रिय उपाध्यक्ष प्रकाश सेठीले समस्या केवल कैलालीमा मात्र सीमित नभई देशव्यापी रूपमा गम्भीर बन्दै गएको बताए।

उनले भने, “निर्माण क्षेत्र अहिले राष्ट्रिय रूपमा संकटमा छ। लागत अत्यधिक बढे पनि ठेक्का मूल्य समायोजन हुन सकेको छैन। यसले व्यवसायी मात्र होइन, समग्र विकास निर्माणका कामहरू प्रभावित भएका छन्।”

उनले सरकारलाई तत्काल मूल्य समायोजनको स्पष्ट नीति ल्याउन र व्यवसायीलाई राहत दिने कार्यक्रम अघि सार्न आग्रह गरे।
अध्यक्ष मल्लका अनुसार अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर निर्माण सामग्रीमा परेको छ। बजारमा सामग्रीको अभावसमेत देखिन थालेपछि निर्माण उद्योग थप संकटमा परेको उनले बताए।

संघले बारम्बार सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि हालसम्म कुनै प्रभावकारी निर्णय नआएको गुनासो गरेको छ। मूल्य समायोजन राष्ट्र बैंकको सूचकांक अनुसार हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यसअनुसार कार्यान्वयन नभएको व्यवसायीहरूको भनाइ छ।

संघले ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ तत्काल जारी गर्न, सबै ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न तथा निर्माण व्यवसायीलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
संघका महासचिव विक्रम विष्टले हस्ताक्षर गरेको विज्ञप्तिमा निर्माण क्षेत्रलाई जोगाउन तत्काल पहल नगरे स्थिति अझ जटिल बन्ने चेतावनी दिइएको छ।



शनिबार २८, चैत २०८२ ०५:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal