सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले भोली शपथ लिने

युग संवाददाता     129 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले भोली शपथ लिने

 


धनगढी पुस १४ / सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुको शपथ ग्रहणको तयारी पुरा भएको छ। सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभाहरुले बिहीबार ९भोलि० अर्थात पुस १५ गते हुने पद तथा गोपनियताको शपथ ग्रहणको तयारी पुरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहणका लागि प्रदेश सभाभित्रको सजावट, रंगरोगन, सिट ब्यवस्थापन, सचिवालय व्यवस्थापनलगायत सबै तयारी पूरा भइसकेको जनाएको छ। करीब २० लाख रुपैयाँ लागतमा विद्युतीय उपकरण माइक, स्पीकर, मिक्सर लगायतका सामान फेरिएका छन्। माइक र फर्निचरका सामान फेर्ने काम, रोस्टमको सेटअप र लोगो राख्ने लगायतका काम भैसकेका छन्। नवनिर्वाचित प्रदेशसभा सदस्यहरुका लागि चाँदी र सुनको जलपसहितको लोगो बनाउने काम पनी सकिएको छ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले पद तथा गोपनियताको शपथका सबै तयारी पूरा भइसकेको र दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ६८ बर्षिय मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। रावलले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरिसकेपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई रावलले शपथ ग्रहण गराउने जैशीले बताए । शपथका लागि सभाहल व्यवस्थापनदेखि तथा अन्य व्यवस्थापकीय काम पनि भइसकेको छ ।प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराउने व्यवस्था गरिएको छ।

सचिवालयले सूचना जारी गर्दै मातृभाषामा शपथ ग्रहण गर्न इच्छुकलाई नाम टिपाउन आग्रह गरेको थियो सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएको जैशीले बताए। ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् । शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा ९एकीकृत समाजवादी० का ३, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।

यसैबीच प्रदेश सभा सचिवालयले संसदीय दलको कार्यालय व्यवस्थापनको कार्य पनि पुरा गरेको छ। नेकपा एकीकृत समाजवादीलाई पुरानै दलको कार्यालय उपलब्ध गराइएको छ। सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको लागि मिटिङ हलमा दलको कार्यालय स्थापना गरिएको छ। अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको कार्यालयमा नेकपा एमालेको दलको कार्यालय बनाइएको छ।विधायन तथा प्रदेश मामिला समितिको कार्यालयमा नेकपा माओवादी केन्द्रको कार्यालय बनाइएको छ, भने सार्वजनिक लेखा समितिको कार्यालयमा नागरिक उन्मुक्तिको कार्यालय बनाइएको छ। १ जना मात्रै प्रदेश सभा सदस्य रहेको राप्रपा र १ जना स्वतन्त्र प्रदेश सभा सदस्यको लागि भने व्यवस्थापन गर्न बाँकी रहेको सचिवालयले जनाएको छ।



बिहिबार १४, पुष २०७९ ०१:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.