बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाए

युग संवाददाता     309 पटक पढिएको    

काठमाडौं / विगतको तुलनामा एक साताअघि प्रवेश गरेको मनसुनी वायु मुलुकभर सक्रिय हुँदा बाढीपहिरोबाट १५ जनाले ज्यान गुमाएका छन् ।एक्कासी ठूलो वर्षा हुने र फेरि घाम लागेर जमिन तात्दा पहिरो जोखिम अत्यधिक हुने गरेको भूगर्भविद्ले बताएका छन् ।

गृह मन्त्रालयको तथ्यांकअनुसार मनसुन सुरु भएपछिका मनसुनजन्य विपद्का कारण १५ जनाको मृत्यु र १ सय १४ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १ सय ५ घटना भएको गृहले जनाएको छ ।

मन्त्रालयका अनुसार भारी वर्षाका कारण १ पुरुष र दुई महिलाले ज्यान गुमाएका छन् । ३३ घरपरिवारमा क्षति पु-याएको छ । मुलुकभर ३४ विपद्को घटना भएका छन् ।

पहिरोका कारण ५ पुरुष र ४ महिला गरी ९ जनाले ज्यान गुमाएका छन् । ६८ परिवार प्रभावित भएको छ । पहिरोको घटना ५७ वटा भएका छन् ।मनसुन सुरु भएपछि बाढीका कारण दुई पुरुष र एक महिला गरी तीन जनाले ज्यान गुमाएका छन् । बाढीका कारण १३ घरपरिवार प्रभावित भएका छन् । यस अवधिमा १४ वटा बाढीका घटना भएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मंगलबार रातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन भएको छ । कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, रूपन्देहीको भैरहवा, कास्कीको पोखरा, दाङ, प्युठान, पाल्पा र रौतहटमा भारी वर्षा भएको छ ।

आज शुक्रबार प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना छ । शनिबार मधेस र गण्डकी प्रदेशमा भारी वर्षा सम्भावना भएकाले सचेत हुन आह्वान गरिएको छ ।‘देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाले भनेको छ ।

बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान वहाबको जोखिम रहेको साथै नदीनाला तथा खहरेमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।



शुक्रबार १७, असार २०७९ ११:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.