सुदूरपश्‍चिम प्रदेमा बाढी पहिरोमा परेर १४ जनाको मृत्यु, २८ बेपत्ता

युग संवाददाता     552 पटक पढिएको    

सुदूरपश्‍चिम प्रदेमा बाढी पहिरोमा परेर १४ जनाको मृत्यु, २८ बेपत्ता

 कार्तिक ३ बेमौसमी वर्षापछिको बाढी र पहिरोमा परेर सुदूरपश्चिममा १४ जनाको मृत्यु भएको  छ भने २८ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका ११, डडेल्धुराका दुई र बैतडीका एक जना मृतकको सनाखत भएको छ । सनाखत भएकाहरूमा डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ नवलपुर बस्ने जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, पवित्रा विक, रबिन विक रहेका छन् । 

घरमाथिबाट आएको पहिरोमा च्यापिएर उनीहरूको मृत्यु भएको प्रवक्ता चन्दले बताए । उनकाअनुसार डोटीकै शिखर नगरपालिका–११ का ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ । गोपघाट बजारबाट घर जाने क्रममा पहिरोसंगै आएको ढुंगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । यसै गरी डोटीकै सायल गाउँ पालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ । सोही पहिरोमा परेर मृतक विकका छोरा रमेश विक र भतिजा भिम विक घाइते भएका छन् । 

यसैगरी सायल गाउँपालिकाकै वडा नम्बर–६ स्थित मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुञ्जेडा र ११ वर्षीय आशिष कुन्जेडा छन् । 

अबिरल वर्षापछि खसेको पहिरो घरमाथि पस्दा च्यापिएर डडेल्धुरामा  एक जनाको मृत्यु भएको छ । प्रवक्ता चन्दका अनुसार मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । डडेल्धुरामै खोलाले बगाउँदा गन्यापधुरा गाउँपालिका–३ की ६५ वर्षीय नर्मदादेवी शाहीको मृत्यु भएको प्रवक्ता चन्दले बताए । घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको जनाइएको छ । 

घरमाथि पहिरो खस्दा बैतडीमा पनि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका–५ बिष्टपाली बस्ने ७१ वर्षीया परुदेवी महरा रहेकी छन् ।   बझाङको थलारा गाउँपालिका–४ डिख्लामा पहिरो जाँदा २४ जना बेपत्ता भएका छन् । मंगलबार बिहान गएको पहिरोमा परेर ७ घर बगेका र २४ जना बेपत्ता भएको उनले बताए । बेपत्ता हुनेमा हाशुदेवी पार्की, आयुश पार्की, सिमाकुमारी पार्की, हिमाकुमारी पार्की, हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की, परभास सार्की, भुमिका सार्की, सिरन्जिबि सार्की, ईश्वरा देवी सार्की, संदिप सार्की र सबिना सार्की रहेका छन् । सोही ठाउँका सरोज सार्की, सर्मिला कुमारी सार्की, पम्मा सार्की, सुवास सार्की, बिकाश सार्की, मदन सार्की, कलु सार्की, र एलिशा सार्की पनि बेपत्ता छन् । 


यसै गरी लगातारको वर्षापछि आएको बाढीमा परी कैलालीमा चार जना बेपत्ता छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ का ६१ वर्षीय खडक बहादुर घर्तीमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तीमगर र २६ वर्षीय खडक रानामगर रहेका छन् । कर्णालीमा माछा मार्न जाँदा बगेर उनीहरू बेपत्ता भएका हुन् । यस्तै गोदावरी नगरपालिका–८ का गणेश आउजी खुटिया खोलाले बगाउदा बेपत्ता छन् । प्रहरी प्रवक्ता चन्दका अनुसार डोटीको सायल गाउँपालिका १ रोकाया गाउँ बस्ने ७४ वर्षीय बिरे रोका स्थानीय खोलाले बगाउँदा वेपत्ता भएका छन् । लगातारको बर्षाका कारण बाढी पहिरोमा परी डोटीमा तीन, डडेल्धुरामा दुई र बैतडीमा दुई जना घाइते भएका छन् ।



बुधबार ०३, कार्तिक २०७८ ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.