सुदूरपश्चिममा बाढीपहिरो जनजीवन अस्तव्यस्तः ७ जनाको मृत्यु,  दर्जनभन्दा बढी बेपत्ता

युग संवाददाता     680 पटक पढिएको    

सुदूरपश्चिममा बाढीपहिरो जनजीवन अस्तव्यस्तः ७ जनाको मृत्यु,  दर्जनभन्दा बढी बेपत्ता

 

धनगढी– आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिममा बाढी, पहिरो र डुबानले जनजिवन अस्तव्यस्त भएको छ।

सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोमा परी मंगलबार बेलुकासम्म सात जनाको मृत्यु भएको छ। कैलाली कञ्चनपुर बाहेक सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत र टेलिफोन सेवा अवरुद्ध हुँदा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन।

बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ। वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले जानकारी दिए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्।

यसैगरी डोटीमा पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु भएको छ। सायल गाउँपालिका–६ मेल्लेखका वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृत्यु हुनेमा वीरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडा रहेको प्रहरीले जनाएको छ।

डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार हालसम्म एक जनाको मृत्यु भएको जानकारी आएको छ।

यस्तै डडेल्धुरामै खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–३ बस्ने ६५ वर्षीया नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको छ। घरनजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन्।
बझाङमा २३ जना बेपत्ता

बझाङमा वर्षासँगै पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। थलारा गाँउपालिका वडा नम्बर ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिए। उनका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्।
बझाङको पहिरो।

गाउँभन्दा माथिबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्। स्थानीय शिक्षक साउँदका अनुसार तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भइ त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन्। बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए।

यता कैलालीमा तीन जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय विक्रम घर्तिमगर र २६ वर्षीय खडक रानामगर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु कर्णालीमा माछा मार्न गएका थिए। उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन्। बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको हुन्। गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारैतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको जानकारी दिए।

हेलिकोप्टरबाट उद्धारको प्रयास भए पनि सफल हुन सकेको छैन। उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन्। उनीहरुमध्ये अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका थिए। उनीहरु स्थानीय शारदा माध्यमिक विद्यालयमा बसिरहेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मुसेट्टिमा फसेका ५ जनाको भने उद्धार गरिएको छ। सुर्खेतबाट आएको सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो। कैलालीको मोहन्यालमा फसेका दुई जनाको भने उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
९ जिल्लालाई २५र२५ लाख दिने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले बाढीपहिरो प्रभावित सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले तत्कालको लागि विपद् व्यवस्थापन, राहत र उद्धारको लागि ९ वटै जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

उनले क्षतिको यकिन विवरण आए थप राहत उपलब्ध गराउने बताइन्। प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय गरेको छ।
 



मङ्गलबार ०२, कार्तिक २०७८ १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.