बिसु पर्व  नयाँ वर्ष  मनाउन कोरोना कहरबीच घर फर्किनेको लर्को

युग संवाददाता     743 पटक पढिएको    

बिसु पर्व  नयाँ वर्ष  मनाउन कोरोना कहरबीच घर फर्किनेको लर्को

 

धनगढी । कोरोना कहरको त्रासदीका बीच भारतको विभिन्न शहरमा रोजगारीका लागि गएका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दाहरू बिसु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् ।


भारत लगायत तेस्रो मुलुकमा रोजगारीका लागि गएका अधिकांश व्यक्ति बिसु पर्व  नयाँ वर्ष  मनाउन घर फर्किने गर्दछन् ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा लगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गड्डाचौकी नाका हु“दै स्वदेश फर्किने भीड लाग्न थालेको बताए । ‘अहिले दैनिक एक हजारभन्दा बढी मानिस भारतबाट आइरहेका छन्’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख सुनारका अनुसार गड्डाचौकीमा सबैको स्वास्थ्य परीक्षणका साथै कोरोना रोगसँग मेल खाने लक्षण देखिए कोरोना परीक्षण गर्ने गरिएको छ ।

एक सातायता गड्डाचौकी नाकाबाट घर फर्किने २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । ‘संक्रमितलाई एम्बुलेन्सबाट महाकाली अस्पताल पु¥याएर उपचार गर्ने प्रबन्ध मिलाएका छौं’ उनले भने, ‘संक्रमित थपिंदै जाने देखिएकाले आइसोलेसन कक्ष बनाउने तयारी पनि छ ।’

गत चैत ८ गतेदेखि सीमामा स्वास्थ्य परीक्षण थालिएको बताउँदै उनले स्वास्थ्य परीक्षणमा स्वास्थ्य सेवा विभागदेखि भीमदत्त नगरपालिकाबाट समेत जनशक्ति खटिएको जानकारी दिए । नयाँ वर्षको अवसरमा यहाँ भव्य रूपमा मनाइने विशु पर्वको रौनक कोरोना कहरस“गै घटेको छ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले बन्दाबन्दी गरेपछि गत वर्ष पनि धार्मिक सांस्कृतिक वर्ष विशुको रौनक थिएन ।

यस पर्वमा विवाहित महिला माइत जाने गर्छन् । यस पर्वलाई यस क्षेत्रमा स–परिवार भेटघाट गर्ने पर्वका रूपमा समेत लिने प्रचलन रही आएको साहित्यकार हेमबाबु लेखकले बताए । ‘नयाँ वर्षमा सकारात्मक कुरा आरम्भ हुने भएकाले यसको धार्मिक महत्व पनि छुट्टै प्रकारको छ’ लेखकले भने, ‘तर कोरोना कहरमा संक्रमणबाट जोगिन सर्तकता अपनाउन आवश्यक छ ।’

सुदूरपश्चिम क्षेत्रमा विशु पर्वका दिन सिस्नु लगाउने प्रचलन रहेको छ । खासगरी देवर र भाउजू तथा साली र भिनाजु एकापसमा सिस्नो लगाउने गरेको साहित्यकार लेखकको भनाइ छ । यसरी सिस्नो लगाउनाले वर्ष दिनभर कुनै पनि संकट नआउने विश्वाससमेत गरिन्छ ।

भारतमा केही दिनयता कोरोना संक्रमण उच्च दरमा बढेपछि कतिपय नेपाली कामदार स्वदेश फर्किन थालेका छन् । डडेल्धुराको पर्शुराम नगरपालिकाका बिरराम सुनारले आफू परिवारसहित विशु पर्वका लागि घर फर्किएको बताए ।

चार महिनाअघि रोजगारीका लागि भारतको पञ्जाव गएको थिएँ । आइतबार बिहान घर फर्किदै गर्दा गड्डाचौकीमा भेटिएका सुनारले भने, ‘पञ्जावमा पनि कोरोना निकै बढेरहेकाले पर्वको बहानामा घर फर्किएका हौं ।’ उनले कोरोना कहर पुनः बल्झिदा रोजगारी नपाएर जीविका चलाउन नसक्ने अवस्थामा पुगिएको दुखेसो पोखे ।

कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना संक्रमण फैलिने क्रम बढी देखिएको छ । एक सातामा यहाँको नाकाबाट भारतको विभिन्न सहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना संक्रमण देखिएको छ ।

आइतबार मात्रै ३३४ जनाको परीक्षण गर्दा ३० जनाको कोरोना संक्रमण देखिएको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिए । ‘यहाँ जनशक्ति अभाव र अन्य व्यवस्थापनले भारतबाट आउने सबैको कोरोना परीक्षण सम्भव देखिएको छैन’ डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भने, ‘संक्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौं ।’

उनले कोरोना संक्रमित देखिएकालाई धनगढी आइसोलेशनमा पठाइरहेको बताए । ‘परीक्षण गरिएकामध्ये दश प्रतिशतमा कोरोना संक्रमण पुष्टि भइरहेको छ’ उनले भने, ‘दैनिक पाँच÷छ सय नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।’

उनले भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था पुनः आएको बताए । हाल भारतमा बढी संक्रमण देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।



सोमबार ३०, चैत २०७७ ०१:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.