ओलीसँग सहकार्य गरेर कांग्रेस सरकारमा जाँदैन  कृष्ण सिटौला

युग संवाददाता     1011 पटक पढिएको    

ओलीसँग सहकार्य गरेर कांग्रेस सरकारमा जाँदैन  कृष्ण सिटौला

 


अनलाइनखबरबाट
 


३ चैत, सप्तरी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सहकार्य गरेर आफ्नो पार्टी सरकारमा नजाने बताएका छन् । उनले अब ओलीसँग देशलाई राजनीतिक नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गरे ।

प्रेस यूनियन शाखा सप्तरीले मंगलबार सदरमुकाम राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए । ‘यसका निम्ति तयारी भइरहेको छ’ उनले भने ।


राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट सरकार बनाउने विषयमा केही कुरा स्पष्ट भएर भएर आउने भन्दै सिटौलाले ओलीसँग सरकार बनाउने विषयमा कुनै सहकार्य नहुने बताए ।

‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ,’ उनले भने, ‘सम्भवतः चैत महिनाभित्रै अर्को सरकारको निर्माण हुन्छ ।’

प्रतिनिधि सभा विघटन गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा ओली अहिले पनि कुर्सीमा बसिरहेको उनले बताए । ‘प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा उहाँले राजीनामा दिनुहुन्छ भन्ने मनसाय पनि देखिदैन,’ पूर्व गृहमन्त्रीसमेत रहेका सिटौलाले भने, ‘अब माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाध्यात्मक स्थिति आउँछ । यो भएन भने राजीनामा दिनुपर्छ ।’

ओलीले राजीनामा दिएपछि बहुमतको आधारमा कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने र यसका निम्ति छलफल चलिरहेको उनले बताए । लोकतन्त्र र संवैधानिक व्यवस्था बचाउन आवश्यक परेमा सरकारको नेतृत्व लिन आफ्नो पार्टी सभापतिलाई भनिसकेको नेता सिटौलाले बताए ।

‘महाधिवेशन सार्न मिल्दैन’

नेता सिटौलाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताए । ‘आगामी भदौ महिनामा निर्धारण भएको महाधिवेशन कुनै पनि बहानामा सार्नु भएन,’ उनले भने, ‘यो पार्टीको बटमलाइन हो । योभन्दा पछाडि कसैलाई जानु हुँदैन ।’

महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सिटौलाले तयारी भइरहेको र समय आएपछि सार्वजनिक गर्ने बताए ।

 



मङ्गलबार ०३, चैत २०७७ ०५:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.