प्रधानमन्त्री ओलीलाई काउन्टर दिन सभामुख सापकोटा निवासमा रणनीति बन्दै

युग संवाददाता     917 पटक पढिएको    

प्रधानमन्त्री ओलीलाई काउन्टर दिन सभामुख सापकोटा निवासमा रणनीति बन्दै
तस्वीर – फाइल


 

काठमाडौं  फाल्गुण १८ । आगामी आइतबार फागुन २३ गते प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन ११ गते १३ दिनभित्र बैठक डाक्न आदेशसहित गरेको फैसलापछि आइतबार बैठक बस्दैछ । 

उक्त बैठक कसरी संचालन हुन्छ भन्ने अन्योल छ । सत्तारुढ नेकपाका दुई समूहमा विभाजित भएपछि ‘सिट एरेन्जमेन्ट’ मा समेत समस्या पर्ने देखिएको छ । प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली समूहसँग विभाजित भएको प्रचण्ड–नेपाल समूहका सांसदहरु सँगसँगै बस्छन् कि बस्दैनन् भन्ने चाँसोसमेत रहेको छ । 


पार्टी आधिकारिक रुपमा विभाजित भइनसकेको अवस्थामा निर्वाचन आयोगले अहिलेसम्म विभाजन नगरेको र पुरानै पार्टीलाई यथावत राखेको सन्दर्भमा सिट व्यवस्थापन गर्न पनि समस्या नै रहेको छ । 

त्यतिमात्रै होइन ओलीले नेपाल संसदीय दलको मुख्य सचेतकबाट प्रचण्ड–नेपाल समूहका देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मा दिएपछि थप विवाद बनेको छ । अहिलेसम्म गुरुङलाई हटाएर भट्टराईलाई नियुक्त गरिएको आधिकारिकतासमेत संसद सचिवालयमा दिइएको छैन । 

यही अन्योल चिरेर प्रधानमन्त्री ओलीलाई संसदमा काउन्टर दिन रणनीति बनाउन सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास लैनचौरमा नेकपाको प्रचण्ड–नेपाल समूहको छलफल भएको छ । 

उक्त छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै जनार्दन शर्मा लगायतका नेताहरुसमेत उपस्थित भएका छन् । 

उक्त गोप्य छलफलले ओलीलाई संसदमा कसरी अविश्वासको प्रस्ताव ल्याएर हटाउन सकिन्छ भन्नेसम्मको योजना बनाउँदै गरेको बताइएको छ । 

पछिल्लो समय प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन चुनौती दिँदै आएपछि प्रचण्ड–नेपाल समूह ‘डिफेन्सिभ’ देखिएको छ । ओलीले आफूले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा धेरैको थियो । 

त्यसविपरीत ओली संसदमा सामना गर्ने भन्दै तम्सिएपछि संसदमा हुन भनिएको सङ्ककमोचनमा समेत उल्झन हुन सक्ने देखिएको छ । 



मङ्गलबार १८, फागुन २०७७ ११:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.