थरुहट मोर्चाले सरकार विरुद्ध मार्चपास गर्ने

युग संवाददाता     752 पटक पढिएको    

थरुहट मोर्चाले सरकार विरुद्ध मार्चपास गर्ने

 

धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाले प्रधानमन्त्री केपी ओलीको सरकार विरुद्ध धनगढीमा मार्चपास गर्न भएको छ ।
मोर्चाले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी टीकापुर घटना मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र प्रतिनिधि सभा विघटन विरुद्ध फागुन १५ र १६ गते धनगढीमा कम्ब्याटसहितका ५० हजार युवाको मार्च पास गर्ने तयारी भइरहेको जनाएको हो । मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारुले राज्यबाट निरन्तर दमन जारी रहेकोले विद्रोहको तयारीमा लागेको बताए । उनले विद्रोहको हब नै धनगढी रहेकाले धनगढीमै ५० हजार युवा दस्ताको मार्चपास गर्ने निर्णय गरिएको बताए ।

कानुनी लडाईका लागि सर्वोच्च अदालत जानुका साथै सडक संघर्ष पनि जारी राख्ने बताउँदै प्रवक्ता थारुले मोर्चाको आन्दोलन धनगढी र टीकापुर केन्द्रित हुने जनाए । उनले ‘हामीलाई असाह्य भएको छ,’ उनले भने, ‘आन्दोलन अब प्रतिरोधात्मक र प्रतिकात्मक हुन्छ । सरकारलाई असहयोग हुन्छ । सरकारलाई असफल बनाउँछौ ।’

उनले यो विद्रोह मोर्चाको अन्तिम विद्रोह गरेको उद्घोष गरे । आफुहरुको राजनीतिक लडाइलाई जातीय दृष्टिकोण भन्दा पनि पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा हेर्नुपर्ने समेत प्रवक्ता थारुले बताए ।

टीकापुर घटनालाई छानविन गर्न गठित गिरिशचन्द्र लाल आयोगको प्रतिवेदनलाई आधार बनाएर राजनीतिक घटनाको रुपमा सम्बोधन हुनुपर्ने र कैद सजाय सुनाइएको नेता तथा कार्यकर्तालाई रिहाइ गर्नुपर्ने माग मोर्चाको छ ।

पुस २ गते उच्च अदालत दिपायलले यसअघि जिल्ला अदालत कैलालीको फैसलालाई उल्ट्याउँदै मोर्चाका केन्द्रीय संयोजक लक्ष्मणसहितलाई जन्मकैद फैसला सुनाएको थियो । सो फैसला विरुद्ध मोर्चा आन्दोलित भएको छ ।

संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीको ज्यान जाने गरि टीकापुर घटना घटेको थियो । भदौ ८ गते कर्फ्यूको समयमा थारुहरुको घर, पसल, एफएममा आगजनी भएको थियो । मोर्चाले ७ गतेको घटनालाई आपराधिक घटना मान्ने भए ८ गतेको घटनामा संलग्नलाई समेत कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग समेत गर्दै आएको छ ।



सोमबार १२, माघ २०७७ ११:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.