‘ओलीको अवैधानिक र असंवैधानिक कदमविरुद्ध एकजुट हुनुको विकल्प छैन’

युग संवाददाता     879 पटक पढिएको    

‘ओलीको अवैधानिक र असंवैधानिक कदमविरुद्ध एकजुट हुनुको विकल्प छैन’

 

काठमाडौं । संविधानले परिकल्पना नै नगरेको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको भन्दै राजनीतिकर्मी तथा नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन् । ओलीकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी ताजा जनादेशका लागि भन्दै नयाँ निर्वाचनको मिति जारी गर्नु पनि ठूलो घात भएको उनीहरुले बताए । 


काठमाडौं उत्तरपूर्वी नागरिक समाजले मंगलबार साँझ बौद्धमा गरेको कोण सभामा वक्ताहरुले ओलीको अवैधानिक तथा असंवैधानिक कदमविरुद्ध सबै राजनीतिकर्मी तथा पेशाकर्मी एकजुट हुनुको विकल्प नरहेको धारणा राखे । मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनीले प्रधानमन्त्री ओलीका कारण सिङगो व्यवस्था नै सङ्कटमा परेको भन्दै ओलीको प्रतिगामी कदमको सशक्त प्रतिवाद गरिने चेतावनी दिए । 

कार्यक्रम संयोजक तथा समाजका पूर्व महासचिव कुमारराज सुवेदीले ओलीले परिवर्तनको पक्षमा भएको झुठो नाटक रच्दै झेली राजनीतिक खेल खेलेर आफ्नो निधारमा कहिल्यैं नमेटिने कलङ्कको  टिका लगाएको टिप्पणी गरे । 

जनता समाजवादी पार्टीका नेता आङकाजी शेर्पाले ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले खुल्लमखुल्ला प्रतिगामी कदम चालेको बताए । जापानका लागि पूर्व राजदूत डाक्टर गणेश योञ्जनले पुष ५ को कदमले मुलुक पुनः  राजनीतिक अस्थिरताको भूमरीमा फसेको धारणा राखे । 

मानवअधिकार तथा शान्ति समाज काठमाडौंका अध्यक्ष जगन्नाथ पुडासैनीले ओली कहिल्यै पनि सच्चा गणतन्त्रवादी नभएको उदाहरण दिँदै ओलीकै कारण लोकतन्त्रिक गणतन्त्रमा ठूलो सङ्कट आएको दाबी गरे । 

अधिकारकर्मी महेश आचार्यले अबका दिन अझ चुनौतिपूर्ण हुन सक्ने भन्दै सबै तह र तप्काका मान्छे आन्दोलनमा उत्रनु पर्ने आवश्यकता औंल्याए । समाजका विभिन्न पेशामा आबद्ध भएकाहरुको र्याली जोरपाटी चोकबाट शुरु भई बौद्धमा पुगेर कोणसभामा परिणत भएको कार्यक्रम संयोजक कुमारराज सुवेदीले जानकारी दिए । 

सुवेदीले आगामी दिनमा अझ शशक्त आन्दोलनका कार्यक्रम ल्याइने बताए । अहिलेको जटिल परिस्थितिमा राजनीतिक पार्टीका स्थानीय नेतृत्वलाई आ–आफ्नो दलको स्पष्ट नीति र अडान राख्न आमन्त्रण गरिएको र त्यसमा पनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन र सडकको नेतृत्व लिने समयमा अझै सत्ताको जोड घटाउमा लागेको हो कि भनी सुवेदीले प्रश्न गरे । हाम्राकुराबाट



बुधबार ०८, पुष २०७७ ११:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.