निर्मला काण्ड प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा प्रहरीलाई सफाइ

Yugnepal     750 पटक पढिएको    

निर्मला काण्ड प्रमाण नष्ट र यातनाविरुद्धको मुद्दामा प्रहरीलाई सफाइ

कञ्चनपुर ।  कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नष्ट गरेको र हत्या आशंकामा पक्राउ परेका व्यक्तिलाई यातना दिएको आरोपमा मुद्दा खेपिरेहका ८ प्रहरीले सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतले बिहीबार उनीहरुलाई सफाइ दिएको हो। 

निर्मलाकी आमा दुर्गादेवी र दीलिपसिंह विष्टका दाजु खडकसिंह विष्टले प्रमाण नष्ट गरेको र दिलिपलाई यातना दिएको भन्दै एसपी डिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनीविरुद्ध जाहेरी दिएका थिए। उक्त मुद्दा जिल्ला अदालत कञ्चनपुरमा २०७५ फागुन २२ मा दर्ता भएको थियो। 

निलम्बनको हदम्याद अधिकतम ६ महिना मात्रै भएपनि निलम्बनमा परेका ६ प्रहरीहरु सोही मुद्दाका कारण अहिलेसम्म सेवामा फर्केका छैनन्। उक्त मुद्दामा अदालतले धरौटी माग गरेपछि निलम्बनमा परेका उनीहरु सेवामा फर्कन पाएका थिएनन्। 

अर्कोतर्फ प्रमाण नष्ट र यातनाको फौजदारी मुद्दामा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्धका देवानी ‘मुद्दा लगाउ’मा राखिएकाले १५ महिना बितिसक्न लाग्दासमेत फैसला हुन सकेको थिएन। 

अधिवक्ता विनोद भट्टले दायर गरेको खेम भण्डारीविरुद्ध प्रतिष्ठा र लेनदेन मुद्दा, डिल्लीराज विष्ट विष्टको छोरा किरण विष्टले भण्डारीविरुद्ध दायर गरेको गालीबेइज्जती र चरित्र हत्या मुद्दा पनि मुद्दा लगाउमा नै राखिएको छ। यस्तै, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टले दायर गरेको गालीबेइज्जती र चरित्र हत्याको मुद्दा, बबिता बमले खेम भण्डारी, मानव अधिकार संगठनका तत्कालीन अध्यक्ष इन्द्रप्रसाद अर्याल र भक्ति फुलाराबिरुद्ध दायर गरेको गालीबेइज्जती र चरित्र हत्याको मुद्दा लगाउमा राखिएको थियो।

२०७७ आसार १७ गते दिपायल उच्च अदालत इजलास महेन्द्रनगरमा जिल्ला अदालत कन्चनपुरले लगाउमा राख्न गरेको आदेशविरुद्ध ‘मुद्दा लगाउ’ फुकाईपाउँ भन्दै निवेदन दर्ता भएको थियो। गत असार २५ गते उच्च अदालतले प्रमाण नष्ट र यातनासँग जोडिएका अन्य मुद्दाको लगाउ फुकाएका फैसला गरेको थियो। यसअघि पत्रकार भण्डारी, मानव अधिकारवादी अर्याल र फुलाराले सार्दै आएको पेशी उच्चको उक्त निर्णयपछि खारेज भएको थियो।

उच्चले लगाउ फुकाएपछि प्रहरीविरुद्धको उक्त मुद्दाको फैसला चाँडो गर्ने बाटो खुला भएको थियो। 

जिल्ला अदालतको यो फैसलापछि निलम्बनमा परेका प्रहरी अधिकारी सेवामा फर्कने बाटो खुला भएको छ। दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भने भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी प्रहरी सेवाबाट हटाइएकाले उनीहरु सेवामा फर्कन सक्ने अवस्था छैन।

अदालतले प्रहरीलाई सफाइ दिएपछि निर्मलाको बलात्कार हत्या आरोपमा यसअघि पक्राउ परेर पनि साधारण तारेखमा रिहा भएका दिलिपसिंह बिष्टलाई पुन पक्राउ गर्ने बाटो खुल्ला भएको छ । यसअघि दिलिपलाई नै पक्राउ गर्दा निलम्बनमा परेका प्रहरीले सफाइ  पाएकाले पुन दिलिपलाई पक्राउ गर्न बाटो खुल्ला भएको हो  दिलिपलाई पुनस् पक्राउ गर्ने तयारी भएको प्रहरी उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

२०७५ साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी  थिइन्। दुई वर्ष बितिसक्दासमेत उक्त बलात्कार र हत्याकाण्डका दोषी अझै कानूनी कठघरामा आइसकेका छैनन्।



बिहिबार १५, साउन २०७७ ०६:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.