जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार

Yugnepal     1078 पटक पढिएको    

जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार

धनगढी । प्रदेशले स्थापना गरेको कोरोना अस्पतालमा संक्रमितको उपचार गर्न ठाउँ नभएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आईसोलेशन कक्षहरु निर्माणमा जुटेको छ ।


धनगढी उप–महानगरपालिका वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आईसोलेशन कक्ष तयार भैरहेको छ । धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आईसोलेशन तयारीको चरणमा पुगेको छ । हामीले चिकित्सकहरु संग सल्लाह लिएका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, बढीमा १ सय सैया सम्मको आईसोलेशन निर्माण गर्न सकिने राय चिकित्सकहरुले दिएका छन् ।

यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताए । सेती प्रादेशीक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा तयार गरेपनि संक्रमितहरुको संख्या बढेकाले आईसोलेशनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने, सबै स्थानीयतहले आफै आईसोलेशन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।

उप–महानगरपालिकाले तयार गर्न लागेको आईसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए । उनले भने, नगरका स्वास्थ्यकर्मी र प्राविधिक टिम रातदिन खटेर काम गरिरहेको छ ।

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण बरालले एक दुई दिनमा नै संचालनमा ल्याउन सक्ने गरि आईसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताए । प्रदेश सरकारले सुरुमै गेटा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा तयारी गरेको भए अहिले अवश्यकता अनुसार आईसोलेशन कक्ष त्यही थप गर्न सकिन्थ्यो संयोजक बरालले भने, बिरामीको चाप भैरहने सेती प्रादेशीक अस्पताललाई कोरोना अस्पताल बनाउँदा संक्रमितहरुको उपचारमा समस्या भएको हो । गेटा मेडिकल कलेजमा ५ सय भन्दा बढी आईसोलेशन कक्ष बनाउन सक्ने ठाउँ छ बराले भने, त्यहाँ सुरुमै बनाएको भए प्रदेशभरी नै आईसोलेशनको समस्या हुने थिएन । अहिले स्थानीयतहरु समस्यामा रहेको उनले बताए ।



शुक्रबार ०५, असार २०७७ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.