क्याम्पसका कारण झलनाथ र सुवास नेम्वाङको जिल्लामा नेकपाभित्र किचलो

Yugnepal     724 पटक पढिएको    

क्याम्पसका कारण झलनाथ र सुवास नेम्वाङको जिल्लामा नेकपाभित्र किचलो

काठमाडौं । इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले पार्टी सदस्यबाट निलम्बन गरेको छ । बिहीबार बसेको जिल्ला कमिटिको बैठकले उनलाई निलम्बन गरेको हो ।

उनलाई अन्तरिम विधान २०७५ को धारा ५६ ९क० मा भएको व्यवस्था बमोजिम बुँदा नम्बर १, ३ र ५ मा उल्लेखित कार्य गरेको हुँदा त्यस सम्बन्धी स्पष्टिकरण समेत मागिएकोमा सो को समेत बेवास्ता गरिएको हुँदा पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ । 

धारा ५६ मा अनुशासनको कारवाही सम्बन्धी व्यवस्था छ । धारा ५६ को ९क० को १ मा पार्टीको सिद्धान्त, कार्यक्रम, नीति, र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, ३ मा पार्टी निर्णय उल्लङघन गरेको र ५ मा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको अवस्था प्रमाणित भएमा कुनै पनि कमिटि वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरुमाथि अनुशासनात्मक कारवाही हुने व्यवस्था उल्लेख छ ।

गुरागाइले क्याम्पसमा सही नेतृत्व गर्न नसकेको नेकपाले बताएको छ । श्रोतका अनुसार उनलाई पहिलादेखि नै पार्टीले दवाब दिएर क्याम्पस प्रमुखबाट राजीनामा दिन वाध्य पार्दै आएको छ । 

स्रोतका अनुसार गत बुधबार साँझ क्याम्पस प्रमुख गुरागाईलाई क्याम्पसकै सञ्चालक समितिका अध्यक्ष एवं पूर्व क्याम्पस प्रमुख राजेन्द्र कुँवरसहितको एक टोलीले दुई घण्टा भन्दा बढी समय थुनेर धम्क्याएको थियो । तर बाहिर होहल्ला हुन थालेपछि उनलाई मुक्त गरिएको थियो । 

कुँवरले गरेका गलत कामहरु गलत हैनन् भनी स्पष्ट पार्न प्रमुख गुरागाईलाई दवाव दिएका थिए । कुँवरले काठमाडौंमा बसेर क्याम्पसबाट नियमित सुविधा लिइरहेको विषयमा समाचार आएपछि त्यसबारेमा स्पष्ट पार्न पनि गुरागाईलाई दबाब दिँदै आएका थिए । 

कुँवर क्याम्पसकै सुविधामा काठमाडौंका होटलमा लामो समयसम्म बसेको आरोप पनि लागेको छ । 

इलामको किचलो 
ईलाम धेरै नेताहरुको अखडा हो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालदेखि लिएर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ इलामकै हुन् । उनीहरुले त्यहींबाट चुनाव जितेका हुन् । तर आपसमा टकराब भएका कारण त्यसको षड्यन्त्रमा गुरागाई परेको दावी जिल्ला नेताहरुको छ । 

गत भदौ अन्तिम साता ईलाममा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा खनाल र नेम्वाङ सहभागी भएका थिए । उक्त क्रममा क्याम्पस प्रमुख गुरागाईको कामको प्रशंसा गर्दै खनालले आफ्नो पूर्ण समर्थन रहेको बताएका थिए । 

खनाल आफ्नो गृहजिल्लामा त्यति प्रभावशाली नेता मानिदैनन् । उनको उक्त साथपछि गुरागाईमाथि झन् मानसिक दबाब बढेको बताइन्छ । 

गुरागाईलाई जिल्ला नेताहरुले आफन्तलाई क्याम्पसमा जागिर दिलाउनु पर्ने दवाव थियो । आपसमा किचलो भएकैले गर्दा उनलाई विभिन्न खेमाका नेताले आफ्नो स्वार्थ पूरा गर्न चाहन्थे । 

त्यही पूरा गर्न नमान्दा उनी नेकपाको शिकार बन्न पुगेका हुन् । त्यस्तै क्याम्पस अध्यक्ष राजेन्द्र कुँवरको समेत नमान्दा उनलाई अप्ठेरो परेको छ । कुँवरले पार्टीको बफादार कार्यकर्ताका रुपमा काम गरिरहेको बुझिन्छ । 

के भन्छन् त क्याम्पस प्रमुख रामप्रसाद गुरागाई रु 
हाम्राकुरासंग उनले खुलेर भन्न चाहेनन् । उनले आफूलाई कार्वाही गरेकोबारे मिडियाबाट थाहा पाएको बताए । 

के गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘पत्रपत्रिका समाचारबाट सुन्दैछु । के गर्ने भन्ने त कुरै भएन । कसले के मुल्यांकन गरेर कार्वाही गर्यो थाहा भएन ।’

क्याम्पस अध्यक्षले भनेको नमानेको र जिल्ला नेताहरुले आफ्ना मान्छे भर्ना गर्न खोज्दा नमानेकाले पार्टीले कार्वाही गरेछ हैन रु भन्ने प्रश्नमा उनले नीतिभन्दा माथि जान नसकिने स्पष्ट पारे । 

उनले सार्वजनिक पदधारण गरेको व्यक्ति भएकाले आफू सक्रिय सदस्य नभई साधारण सदस्य भएको स्पष्ट पारे । उनले भनेको मान्ने भन्ने सवालमा स्पष्ट पार्दै भने, ‘दबाब त कसले के के दिन्छ त्यसको पछि लाग्ने कुरा भएन । कि क्याम्पस अध्यक्षले नीति तथा कार्यक्रम ल्याउनु पर्यो । त्यसो भएको भए त्यही नीति र कार्यक्रम अनुसार चलिन्थ्यो ।’

अध्यक्ष काठमाडौं बसे पनि तलब भने क्याम्पसबाटै खाइरहेको स्पष्ट पारे । अब उनले छलफल गरेर अगाडि बढ्ने बताए । समस्यालाई समाधान गर्दै अगाडि बढ्ने बताए । 

झलनाथले काँध थापेको भन्ने प्रसङ्गमा उनले काँध थाप्ने र झुक्ने भन्ने कुरै नआएको बताए । उनले आफू विधि र प्रक्रियाबाट आएको बताए । 

‘सुझाव र सल्लाह आफ्नो ठाउँमा छ तर म नीति अन्तर्गत नै क्याम्पस प्रमुख बनेको हुँ’, उनले भने । अगाडि थपे, ‘सबैको सकारात्मक सुझाव नीतिभित्र पर्ने कुराहरु लिएर जाने हो भने त्यो भन्दा बाहिरको कुरा त कुनै अमुक पार्टीको कुरा लिएर अगाडि बढ्दिन ।’ 

क्याम्पस अध्यक्ष राजेन्द्र कुँवर 
कुँवर पूर्व क्याम्पस प्रमुख समेत हुन् । उनले हाम्राकुरासंगको कुरामा उनले आफू शुक्रबार बिहान काठमाडौं आएको बताए । बुधबार क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुनेर विवादित बनेका उनी शुक्रबार बिहान मात्र काठमाडौं आइपुगेको बताए । 

उनले क्याम्पस प्रमुखसंग कुनै नराम्रो सम्बन्ध नभएको स्पष्ट पारे । आफू क्याम्पस संचालक समितिको अध्यक्ष भएकाले बर्षका एक दुई वटा मिटिङ बोलाउने भएको र त्यो भन्दा बढी अधिकार प्रशासनमा केही नहुने स्पष्ट पारे । 

उनले आफू अध्ययन बिदामा रहेकाले काठमाडौंमा रहेको बताए । आफूले क्याम्पसको सेवा सुविधा अध्यक्षको नाताले कुनै दुरुपयोग नगरेको बताए । 

उनले अध्ययन बिदामा रहेको त्यहाँको स्थायी शिक्षकको हैसियतले तलब कलेजबाटै खाइरहेको स्पष्ट पारे । त्यो सबै त्रिविका शिक्षकले पाउने सुविधा भएको बताए । 

गुरागाईलाई क्याम्पसभित्र थुनेको भन्ने प्रसङ्गमा उनले भने, ‘मैले पनि सुनें बाहिर कसरी यस्तो कुरा आयो । मैले त बाहिर विभिन्न कुरा आए यसको खण्डन गर्नुपर्यो भनेको थिएँ । संस्थाको विषयमा केही गलत कुरा बाहिर आउन
 राम्रो होइन । संस्थाप्रमुखको हिसाबले यो राम्रो होइन । तपाई पनि मुछिएर आउनु भएको छ । हो भने हो भन्नुपर्यो होइन भने स्पष्ट बारिदिनु पर्यो भनेर भनेको थिएँ । त्यत्ति कुराकानी भएको हो । त्यो पनि सौहार्दपूर्ण हिसाबमा भएको हो । बाहिर के के आउँछ पत्रिकामा ९हाँस्दै० ।’

उनले गुरागाईलाई खण्डन गर्न भनेको प्रसङ्गमा थप स्पष्ट गर्दै भने, ‘मैले कुनै पनि गलत नगरेको र कुनै प्रसङ्ग बाहिर नल्याएको भन्नु भयो । मिडियामा दुई पक्षीय कुरा आउनु पर्ने हो । त्यसको खण्डन गरेर नराम्रो किन बनुँ भनेर मैले केही नबोलेको हुँ ।’

पार्टीका कार्यकर्ता भर्ती गर्न दवाव दिएको प्रसङ्गमा उनले प्रमाण पुर्याउँदा भयो नि भने । उनले भने, ‘आफू सात वर्ष क्याम्पस प्रमुख भएर हिँडेको मान्छे हुँ । सात वर्ष त्रिविको उत्कृष्ट क्याम्पस बनाएर हिँडेको मान्छे हुँ ।’

गुरागाईलाई आफूले कुनै पनि किसिमको दवाव नदिएको उनले दावी गरे । 



शुक्रबार १०, असोज २०७६ ०१:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.