२० करोड अनियमितताको आशंकापछि प्रहरी बिरुद्ध अख्तियार भयो सक्रिय

Yugnepal     804 पटक पढिएको    

२० करोड अनियमितताको आशंकापछि प्रहरी बिरुद्ध अख्तियार भयो सक्रिय

काठमाडौं। नेपाल प्रहरीले बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजातहरु नियन्त्रणमा लिएपछि असोज ४ मा टुंगो लगाउनुपर्ने बोलपत्र अलपत्र परेको छ। नेपाल प्रहरीले चुस्ता, डीएमएस बुट, पन्चा, ऊलन सर्ट, ऊलन पाइन्ट, कटन सर्ट, कटन पाइन्ट, झुल, पार्का ज्याकेट लगायतका सामानको गएको साउन २६ मा टेण्डर गरेको थियो। भदौ २६ मा खोलिएको टेण्डरमा ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, पिताम्बर मुन्का, रितेश अग्रवाल लगायतले सेटिङ गरी लागत मूल्यकै हाराहारीमा टेण्डर हालेको र तिनैलाई दिने तयारी प्रहरीले गरेको थियो। बोलपत्र टुंगो लगाउने दिन असोज ३ मा संविधान दिवस परेकाले सार्वजनिक बिदा भएकाले आइतबार खोल्ने दिन थियो। तर अख्तियारले कागजात नियन्त्रणमा लिएका कारण टेण्डर अन्योलमा परेको छ। 

ज्ञानेन्द्र बस्नेतसहितका ६ वटा कम्पनीलाई मात्र सेटिङ गरी बन्दोबस्तीका सामान खरिदको टेण्डर दिनेगरी प्रबन्ध शाखामा ठेकेदार र हाकिमहरुको भदौ २३ गते बैठक बसेको थियो। त्यो बैठकबाट नै कुन कुन सामान कसले कसले पाउने भन्ने तय गरिएको थियो। ज्ञानेन्द्र बस्नेतको जय सलिना इन्टरप्राइजेजलाई डीएमएस बुट र प्लस पइन्टले चुस्ताको ठेक्का दिन लागिएको थियो भने टोपेन्द्र बीसीको तेजसम इन्टरप्राइजेजलाई ऊलन स्वीटरको ठेक्का दिन लागिएको थियो। श्लोक इन्टरप्राइजेजका रितेश अग्रवाललाई कटन सर्ट, पिताम्बर मुन्काको क्राउन टेक्सटाइलले कटन वाइन्ट र ऊलन सर्टको ठेक्का सेटिङमा दिन लागिएको थियो। 

प्रहरीका हाकिमहरुसँगको मिलेमतोमा ज्ञानेन्द्र बस्नेतको समूहका यी कम्पनीले लागत मूल्यकै हाराहारीमा टेण्डर हालेका छन्। चुस्ताको ठेक्कामा गतबर्ष प्रतिस्पर्धा भएको थियो। यो बर्ष प्रहरीले १ लाख ६९ हजार मिटर चुस्ताको टेण्डर गरेको छ। जसमा सेटिङमा ठेक्का दिएर ३ करोड बढी सरकारलाई नोक्सान पार्न लागिएको छ। यदि गत बर्षको जस्तै प्रतिस्पर्धा भएको भए सरकारी रकम ३ करोड बचत हुने थियो। यो बर्ष ज्ञानेन्द्र बस्नेतकै कम्पनीलाई चुस्तामा प्रतिस्पर्धा नगरी मिलेमतोमा ठेक्का दिन लागिएको छ। जसमा ३ करोड बढी रकम तिर्नुपर्ने भएको छ। चुस्ताको लागतमूल्य प्रतिमिटर भ्याटसहित ५ सय ८५ रुपैयाँ राखिएकोमा बस्नेतको प्लस पइन्टले ५ सय ८२ रुपैयाँमा बोलपत्र पेश गरेको छ। यसरी ५१ करोडको टेण्डरमा सेटिङमा २० करोड अनियमितता हुँदैछ। 

ज्ञानेन्द्र बस्नेतहरुले गुणस्तर परीक्षण गर्दा भारतको आइटीएसमा समेत सेटिङ गर्ने गरेको आरोप छ। प्रहरीले कुरियरमा नूमना गुणस्तरका लागि पठाउनुपर्नेमा ठेकेदारलाई नै पठाउने काम गरेको आरोप छ। ठेकेदारले राम्रो पिस छानेर लाने र गुणस्तर पास भएको रिपोर्ट ल्याउने गरेका छन्। प्रहरीको नाममा ठेकेदारलाई गुणस्तर टेष्टमा पठाउने गरिएको गुनासो छ। यसरी गुणस्तर टेष्टदेखि खरिदका हाकिमहरुसम्म सेटिङ गरी प्रतिस्पर्धा नै गर्न नदिई मिलेमतो गर्दा २० करोड रुपैयाँको चलखेल भएको छ। यस्तो खरिदमा गरेको घोटाला हुँदा पनि आइजीपी सर्वेन्द्र खनालले छानबिन नगरेपछि अख्तियारले नै कागजात नियन्त्रणमा लिएको छ। हाम्रा कुरा डटकमले प्रहरीको खरिदमा २० करोड घोटाला गर्न लागिएको समाचार यसअघि नै प्रकाशित गरिसकेको छ।  



बुधबार ०८, असोज २०७६ ०२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.