नेकपामा ‘सीवाद’ को फोटोकपी बाँडिदै, सफल होला सी फकाउने चाल ?

Yugnepal     762 पटक पढिएको    

नेकपामा ‘सीवाद’ को फोटोकपी बाँडिदै, सफल होला सी फकाउने चाल ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विचारधारा के त भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा अर्को महाधिवेशनले पार्टीको विचारधारा तय गर्ने भनिएको थियो । 

त्यसयता पार्टीभित्र निकै माथापच्ची चल्यो । नेताहरुले आपसमा टाउको दुखाए । विशेष गरी मदन भण्डारीको जनताको बहुदलीय जनवाद जबजमा चर्को बहस चल्यो । 

नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विश्वास पात्र नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेललाई लगाएर  जबजको सिद्धान्त अगाडि बढाउन उक्साए । 

पोखरेलले पनि ओलीको काँधमा चढेर जबजको नारा घन्काए । यो विषयलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पचाउन सकेनन् । उनी नयाँ परिवेशबाट जानुपर्ने भन्दै जबजको वाद पुरानो भएको प्रतिक्रिया दिँदै हिंडे । अनि जनताको जनवादमै पनि अडिए । 

परिस्थिति यस्तो बन्यो कि अब एमाले र माओवादी फुट्छन् फुट्छन् । तर त्यो परिस्थिति बनेन । एकातिर थियो महाधिवेशनको भाका त अर्कातिर बीचमा कहाँबाट यस्तो गलत भूमरी आइपुग्यो भन्ने चिन्ता पनि थपियो । 

तर सत्ता र शक्तिको मोहमा रुमलिएका दुई शक्तिहरु अहिलेसम्म अगाडि बढिनै रहेका छन् । कुनै वाद नबोकी । यस्तो लाग्छ कि मुलुकको सबैभन्दा ठूलो दलको कुनै वाद छैन । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुको भनाइलाई लिने हो भने सत्तारुढ नेकपाको वाद भनेको नै भ्रष्टाचारवाद हो । महंगीवाद हो । लुटवाद हो र कानुनमिचाइवाद हो । 

छिर्यो ‘सीवाद वा सी विचारधारा’
नेकपाभित्र अहिले ‘सीवाद वा सी विचारधारा’ छिरिरहेको छ । चिनियाँ कम्युनिष्ट प्रभाव नेपालमा हुल्न चीन उद्दत रहेको छ । त्यसकै प्रभाव अहिले परिरहेको छ । यसका लागि केही वर्षदेखि चीन सरकारले ‘कम्युनिष्ट’ को गन्ध आउने जस्तासुकै संचारकर्मी, नेता, बुद्धिजीवी सबैलाई ढुक्कैसंग चीन घुमाउने गरेको छ । 

अहिले एक दर्जन नेकपामा मेयरहरुको चीन भ्रमण त्यसकै उपज हो । घुम्न र खान पाएपछि हाम्रा नेताहरु सबै धर्म त्याग्न तयार हुन्छन् भन्ने त पुरानो भनाइ नै छ । त्यही भनाई अहिले चरितार्थ भयो त के गुनासो रु 

आफ्नो प्रभाव पार्नका लागि पहिले सुगन्ध छाड्नुपर्ने सिद्धान्त अनुरुप चीनले निकै रणनीतिमुलक भूमिका खेलिरहेको विष्लेषण गर्न थालिएको छ । 

माओवादलाई समेत पछाडि पार्दै खाओवादको सिद्धान्त चल्दै आएकामा नेकपा जनताबाट आलोचित हुँदै आएको छ । पाँच वर्षे बलियो सरकार हुँदा पनि विकास गर्न नसकेर छट्पटाइरहेको नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागु गर्ने तयारी थालेको छ । 

नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । सोमबार ९असोज ६ गते० प्रशिक्षण सुरु हुँदैछ । 

साँझ नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दैछन् । सो कार्यक्रममा नेपाल र चीनका तीन सय बढी नेता सहभागी हुने प्रचार विभागले जनाएको छ । 

दुई दिने प्रशिक्षण कार्यक्रमको पहिलो दिन उद्घाटनमा दुई अध्यक्षले विचार राखेसंगै चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावले पार्टीको दृष्टिकोण राखेपछि पहिलो दिनको सत्र सकिने छ । 

अर्को दिन मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश, प्रशिक्षण र संगठन विभागका प्रतिनिधिले आ–आफ्ना छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने र छलफल हुने कार्यक्रम रहेको बताइएको छ । 

नेकपा सचिवालयका नौ जना, स्थायी कमिटीका ४५ जना, केन्द्रीय कमिटीका एक तिहाइ गरी नेपालबाट २ सय ५० जना नेता सहभागिता हुने स्कुल विभागले जनाएको छ । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा ४० चिनियाँ नेता सहभागी हुँदै छन् ।

सीलाई फकाउने चाल ?
यो प्रशिक्षणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङलाई फकाउने षड्यन्त्रको रुपमा समेत लिइएको छ । सीको राजकीय भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको विचार आदान–प्रदान एवं अन्तरक्रियाले पक्कै पनि ओली सरकारलाई बलियो बनाउने लक्ष्य लिइएको बुझ्न सकिन्छ । 

यदि अहिले यो कार्यक्रम राखियो र सकारात्मक सन्देश दिन सक्ने हो भने सीले नेपालमा कम्युनिस्ट सरकार रहेको समयमा विशेष प्याकेज घोषणा गर्न सक्ने अपेक्षासमेत नेकपाको छ । 

केपी ओली नेतृत्वको सरकार पनि सीको असोज अन्तिम साता हुने भनिएको नेपाल भ्रमणको अवसरलाई विशेष बनाउने तयारीमा जुटेको छ । जसका कारण पार्टीको स्कुल विभागले समेत सी विचारधारालाई अगाडि सारेको विज्ञहरू बताउँछन् ।

हेर्नुछ कि नेकपाको चाल कत्तिको सफल होला । एकातिर देशको विकासको गति शून्यमा झर्ने, भ्रष्टाचारले सीमारेखा पार गर्ने अवस्था रहँदा चिनियाँ सीवाद भित्रिँदा यो वादले हेर्छ  कि नेपाललाई घेर्छ त्यो त समयले बताउने नै छ । 



सोमबार ०६, असोज २०७६ १२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.