सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

Yugnepal     744 पटक पढिएको    

सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक सिटको अनुगमन गरिने

काठमाडौं ।  सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक आरक्षण सिट, भाडामा दिइँदै आएको छुट र उनिहरुले यात्रामा भोग्नु परेका समस्याबारे अनुगमन गरिने भएको छ ।

सार्वजनिक यातायातमा प्रभावकारी अनुगमनको माग गर्दै आइतबार यातायात व्यवस्था विभाग पुगेका अग्रज समाज नेपाल र ज्येष्ठ नागरिक सङ्घर्ष समितिका प्रतिनिधिसँगको भेटघाटका क्रममा विभागले सो प्रतिबद्धता जनाएको हो । विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहले विगत एक दशक पहिलेदेखि अनुगमन हुँदै आएकामा आगामी दिनमा अझै बढाइने बताए ।

सवारी साधनले ज्येष्ठ नागरिकका लागि सिट आरक्षण नगरेर वा ५० प्रतिशत छुट नदिँदा कारवाही गरिने उनले बताए । ज्येष्ठ नागरिकसमेत सङ्लग्न गराएर अनुगमन गराइने उनले प्रतिबद्धता जनाउनुभयो । उनले भने, “अहिले शुरु गरेर दशैँलगायतका चाडपर्वमा अनुगमन बढाइनेछ ।”

समितिका अध्यक्ष महाप्रसाद पराजुलीले काठमाडौँ उपत्यका भित्र छुट र आरक्षण सिट पूर्णरुपले कार्यान्वयन नभएको बताए । काठमाडौँ उपत्यका बाहिर जाने लामो दुरीको यातायातमा भने छुट र आरक्षण सिट कार्यान्वयन नै नभएको उनले जानकारी दिए । उनले भने, “पहिले कार्यालयले नियमित अनुगमन गर्दा कार्यान्वयन भए पनि अहिले अनुगमन पातलो हुँदा छैन ।”

संस्थाका उपाध्यक्ष सीताराम ढकालले संस्थाले विसं २०६७ देखि नै नियमित रुपमा सरकारलाई ज्येष्ठ नागरिकलाई दिनुपर्ने सुविधाका विषयमा घचघच्याइरहेको बताए । विभागका निर्देशक बन्धुप्रसाद बाँस्तोलाले पहिले यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विभागको भए पनि अहिले प्रदेश सरकारको भएको बताए । 



सोमबार २७, साउन २०७६ ०२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.