प्रहरीको कुटाईबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की गम्भीर घाईते

Yugnepal     818 पटक पढिएको    

प्रहरीको कुटाईबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की गम्भीर घाईते

 

ठमाडौं । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की राजन प्रहरीको कुटाईबाट गम्भीर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले सादा पोसाकमा आएर पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाईबाट घाईते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारकालागि काठमाडौ ल्याइएको छ । 

शनिवार राती सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा ६ घर भएका ३० वर्षीय प्रहरी हवल्दार सनम सिंह लामा र काभ्रे पनौती ७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले विना कारण योजनाबद्ध तरिकाले कुटपिट गरेका हुन। अध्यक्ष कार्कीको टाउँकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ ।

पत्रकार महासंघ सिन्धुली शाखा पूर्व अध्यक्ष मिनकुमार दाहालसँग कुराकानी गरिरहेका बेला खाना खाने बहाना बनाएर होटलमा गएका प्रहरी हवल्दार सनम लामाले मोवाईलमा भिडियो कैद गरेको र अध्यक्ष कार्कीले भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाईकलको हेल्मेट लगाएतका अन्य बस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताए। पहिला फोटो खिचेर बाहिर कतै पठाएको अनि पछि भिडियो खिच्ने बहाना बनाएर कुटपिट भएको उनको भनाई छ । प्रहरीको कुटाईबाट आफु पनि सामान्य घाईते भएको उनले बताए।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राती नै पत्रकारहरुले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै जना नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने प्रतिबद्धता जनाएका थिए। घाईतेको उपचार गर्ने ब्यवस्था मिलाउने प्रतिबद्धता समेत उनले गरेका थिए। कार्यालयमा पत्रकार र प्रहरीको धकेलाधकेलको स्थिति पछि भएपछि बल्ल प्रहरी प्रमुख आएका थिए । घटनामा सुरक्षा निकायका प्रमुखको गैरजिम्मेवारीले थप शंका उत्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीले घटनाको विरोध गर्दै घाईतेको उपचार र दोषीलाई कानुनी कारवाही गर्न माग गरेको छ । पत्रकार महासंघ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको भन्दै पत्रकारहरुले विरोध गरेका छन् । सुरक्षा निकाका प्रमुखले यस्तो गम्भीर घटना घट्दा पनि चुप लागेर बसेकाले नागरिकको सुरक्षा माथि प्रश्न चिह्न खडा भएको पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले बताइन् । घटनाको नेपाल प्रेस युनियन लगायतका संस्थाले विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छ्न् ।



आइतबार २२, असार २०७६ १०:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.