सुदूरपश्‍चिम प्रदेशमा ५९ हजार बेरोजगार

Yugnepal     680 पटक पढिएको    

सुदूरपश्‍चिम प्रदेशमा ५९ हजार बेरोजगार

धनगढी -  सुदूरपश्चिम प्रदेशमा काम गर्ने उमेर समुहका ५९ हजार जनसंख्या बेरोजगार रहेको पाइएको छ।यस प्रदेशमा १५ वर्ष वा सो भन्दा बढी उमेर समुहको जनसंख्या १८ लाख ८३ हजार रहेकोमा ५९ हजार जनसंख्या वेरोजगार रहेको तथ्यांकले देखाएको छ।

प्रदेशमा काम गर्ने उमेर समुहको जनसख्या मध्ये बढी शहरी क्षेत्रमा बेरोजगार रहेका छन्। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको नेपाल श्रमशक्ति सर्वेक्षण ९तेस्रो० नतिजा अनुसार यस प्रदेशको शहरी क्षेत्रमा ४० हजार र ग्रामीण क्षेत्रमा १९ हजार जनसंख्या वेरोजगार रहेका छन्।

प्रदेशमा बेरोजगारी दर ११ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। सर्वेक्षण अनुसार देशभरीमै सबैभन्दा कम रोजगारमा रहेको जनसंख्या सुदूरपश्चिम नै रहेको छ।

तथ्यांक अनुसार सबैभन्दा रोजगारमा रहेको जनसंख्या प्रदेश नम्बर ३ मा ४३ दशमलब आठ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २४ दशमलब एक प्रतिशत रहेको छ। यस प्रदेशमा प्रदेशमा दुई लाख ९४ हजार पुरुष र एक लाख ६१ हजार महिला गरि चार लाख ५५ हजार जनसंख्या रोजगार रहेको सो तथ्यांकमा उल्लेख छ।

बसोबासका आधारमा तीन लाख १० हजार शहरी क्षेत्रमा र एक लाख ४४ हजार ग्रामीण क्षेत्रका जनसंख्या रोजगारमा रहेको जनाइएको छ । प्रतिबेदन अनुसार सुदूरपश्चिम प्रदेशको रोजगारीमा रहेको जनसंख्या मध्ये ६८ प्रतिशत शहरमा र ३२ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको छ।

साथै रोजगारमा रहेका पुरुषहरुमध्ये शहरमा ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ३० प्रतिशत रहेका छन भने महिलाहरुमध्ये ६५ प्रतिशत शहरमा र ३५ प्रतिशत ग्रामीण क्षेत्रमा रहेका प्रतिबेदनमा उल्लेख छ।

देशभरीमै श्रमशक्तिमा सहभागिता दर सबैभन्दा बढी ४७ दशमलब एक प्रतिशत प्रदेश नम्बर ३ मा रहेको र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २७ दशमलब तीन प्रतिशत रहेको देखाएको छ। सुदूरपश्चिम प्रदेशमा श्रमशक्तिमा सहभागिता दरमा पुरुष ४५ दशमलब छ प्रतिशत र महिला १५ दशमलब सात प्रतिशत रहेको छ।

प्रतिवेदन अनुसार प्रदेशमा औसत मासिक आम्दानी १६ हजार तीन सय ५६ रहेकोमा पुरुषको १७ हजार चार सय ४२ र महिलाले १३ हजार पाँच सय ८३ रहेको छ।

विभागले तेस्रो सर्वेक्षण २०१७ जुलाईदेखि २०१८ जुन अर्थात २०७४ असारदेखि २०७५ जेठसम्म तथ्यांक संकलन गरेको तथ्यांक विभाग महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख गोविन्द न्यौपानेले बताए।



शनिबार १८, जेठ २०७६ ०२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.