मिथ्या सूचनाले पत्रकारितामा निम्त्याएको संकटबारे छलफल

युग संवाददाता     148 पटक पढिएको    

मिथ्या सूचनाले पत्रकारितामा निम्त्याएको संकटबारे छलफल


 धनगढी  मिथ्या सूचना प्रयोगको अवस्था, कारण र प्रभावहरूबारे धनगढीमा आइतबार बृहत सम्वाद कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ, कैलालीको आयोजनामा भएको “मिथ्या सूचनाले पत्रकारितामा निम्त्याएको संकट” सम्बन्धी प्रदेशस्तरीय सम्वाद कार्यक्रममा पत्रकार, अधिकारकर्मी, सरकारी अधिकारी, सुरक्षा अधिकारी तथा सामाजिकरनिजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले पछिल्ला दिनहरूमा मिथ्या वा गलत, भ्रामक र अपूर्ण सूचना प्रवाहमा बृद्धि आइरहेको चर्चा गरे । सहभागीहरूले मिथ्या सूचनाका कारणहरूको पहिचान गर्दै विश्वसनीय स्रोतसम्मको कम पहँुच, बेनामे स्रोतहरूको अत्यधिक प्रयोग, हुबहु समाचार प्रयोगको प्रवृत्ति तथा पत्रकार र मिडिया गृहहरूबीचको अस्वस्थ्य प्रतिस्पर्धा बढेको औल्याए । त्यस्तै, राजनीतिक, आग्रह, पूर्वाग्रह र बदनियतका आधारमा समाचार सम्प्रेषण, सतही रिपोर्टिङ, मूलधारको पत्रकारिता र सामाजिक सञ्जालबीचको भेदप्रति उदासिनता पनि मिथ्या सूचनाका कारण रहेको सहभागीहरूको निष्कर्ष रहेको छ ।

सम्वाद कार्यक्रमका सहभागीहरूले पत्रकारितामा मिथ्या सूचनाका कारण सामाजिक र राजनीतिक धु्रवीकरणमा बृद्धि भइरहेको, पत्रकार र मिडियाको विश्वसनीयतामा ह्रास, व्यक्ति, समुदाय र संस्थाको प्रतिष्ठामा असर परिरहेको औल्याए । त्यस्तै, मिथ्या सूचनाका कारण स्थानीय मुद्दाहरूको रिपोर्टिङमा कमी, व्यक्तिको सोच, विचार र व्यवहार गलत बन्दै गएको, ।नियामक निकायको अनुसन्धानमा असर परिरहेको र कानुनी कारबाही प्रभावित हुनुका साथै पत्रकारहरूमाथि असुरक्षा बृद्धि भइरहेको चर्चा गरे ।

सहभागीहरूले मिथ्या सूचना न्युनिकरणका लागि सूचनाको सत्यापन र तथ्य जाँचमा अधिक चासो दिन आग्रह गरे । त्यस्तै, पत्रकारहरूको वर्गीकरण आवश्यक भइसकेको, पत्रकार आचारसंहिताको पूर्ण पालना, अनुसन्धानमूलक र खोजी पत्रकारितामा बृद्धि, स्रोतको गोपनीयताको संरक्षण र सामाजिक सञ्जालहरूको नियमनमा पहल गर्न सहभागीहरूको सुझाव छ । सहभागीहरूले नागरिक स्तरमा मिथ्या सूचनाबारे सचेतना बृद्धि गर्नुपर्ने, पत्रकार आचारसंहिता पालनाको अनुगमन, सकारात्मक समाचारको कभरेज बृद्धि तथा बलियो सम्पादकीय प्रक्रिया अवलम्वनले मिथ्या सूचना न्युनिकरण सम्भव भएको चर्चा गरे ।

सम्वाद कार्यक्रममा मिथ्या सूचना न्युनिकरणका लागि मानव अधिकार आयोग र संस्थाहरूबाट निगरानी र संरक्षण कार्यको अझ बढी जिम्मेवारी बहन गर्न आग्रह गरे । पत्रकारहरूबाट विश्वसनीय स्रोतसम्मको पहुँच र आचारसंहिता पालना गर्ने, गराउने, नियामक निकायबाट नियम र कानुन कार्यान्वयन गर्न र समाचार कक्षबाट बलियो सम्पादकीय प्रक्रिया बनाउन सहभागीहरूले आग्रह गरे । त्यस्तै, पत्रकार महासंघ र स्थानीय तहहरूबाट सामाजिक सञ्जाल र मिडिया सामग्री उत्पादकहरूका लागि सचेतनामूलक कार्यक्रम अघि बढाउन समेत सहभागीहरूको आग्रह रहेको छ ।

सम्वाद कार्यक्रममा सहभागीहरूले सूचनाको हक प्रभावकारी रुपमा कार्यान्वयन गर्न जिल्ला प्रशासनको अगुवाईमा सरकारी कार्यालयमा सहजीकरण गर्ने, गलत र मिथ्या सूचना कम गर्न सरोकारवाला निकायहरूबीच समन्वय बढाउने, फ्रि मिडिया नेटवर्कलाई अझ क्रियाशील बनाउन र मिथ्या सूचना न्युनिकरणका लागि निरन्तर संवाद गर्ने निर्णय समेत गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ अधिकृत गिरीराज अधिकारीले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका कार्यक्रम संयोजक रविराज बरालले सम्वाद कार्यक्रम सञ्चालनको विधिबारे प्रकाश पारेका थिए ।

सम्वाद कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वारले प्रदेशस्तरमा मिथ्या सूचना प्रवाहको अवस्था, कारण र प्रभावहरूबारे चर्चा गरेका थिए ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी, राष्ट्रिय मानवअधिकार आयोग धनगढी कार्यालयका कानुन अधिकृत गणेशराज जोशी, नेपाल पत्रकार महासंघका सचिव हेमकर्ण विक, केन्द्रीय सदस्यद्वय भरत शाह र उत्तर बिष्ट, महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंह, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की, इन्सेकका अधिकृत कृष्णबहादुर विक, कैलाली उद्योग बाणिज्य संघका सचिव सुरेश पाण्डे, पत्रकारहरू शिवराज भट्ट, जगत सावद र दीपक नेपाल, ठाकुर करियाप्रधान लगायतले धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासंघ कैलालीका सचिव प्रेम चौधरीले गरेका थिए । युरोपियन युनियन, नेपाल पत्रकार महासंघ, इन्टरनेशनल अलर्ट, सञ्चारिका समूह र अकाउण्टेबिलिटी ल्याव नेपालको सहयोगमा लोकतन्त्रको सवलीकरणमा नागरिक आवाज र संलग्नता ताथ जवाफदेहीता परियोजना सञ्चालनमा छ ।



आइतबार ०९, बैशाख २०८१ ०८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.