नागरिक उन्मुक्तिका संस्थापक रेशमसहित प्रदेश सांसद छलफलमा

युग संवाददाता     215 पटक पढिएको    

नागरिक उन्मुक्तिका संस्थापक रेशमसहित प्रदेश सांसद छलफलमा

धनगढी – दुई पक्षमा विभाजित नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा सदस्य सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा घनीभूत छलफलमा जुटेका छन्।


सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बुधबार बिहानैदेखि प्रदेश सांसद र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी छलफलमा जुटेका हुन्। अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवादका कारण दुई पक्षमा बिभाजित भएका प्रदेश सांसदहरु लामो समयपछि एक ठाउँमा बसेका हुन्।

उनीहरुसँग नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदिय दलका नेता धर्म चौधरी पनि छलफलमा छन्। नागरिक उन्मुक्तिका नेता एवं प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले छलफल भैरहेको स्विकार्दै अहिले सम्मको छलफल सकारात्मक रहेको बताए।

उनले भने, ‘संरक्षक सहित प्रदेशका सबै सांसदको सहभागितामा छलफल भईरहेको छ, पार्टिलाई एक ढिक्का बनाउने र प्रदेश सरकार निर्माणका लागि सकारात्मक छलफल भएको छ।’

उनले अझै घनीभूत छलफल भएर निकास निस्कने बताए। पार्टि अध्यक्ष रन्जिता श्रेष्ठले धनगढीमा भईरहेको छलफल बारे आफुलाई जानकारी नभएको बताउँदै बैशाख २ गते सम्म नागरिक उन्मुक्तिको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार गठन हुने दावी गरिन। उनले नयाँ गठबन्धनबिच सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भैषकेको बताईन।

मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको बिषयलाई लिएर आरोप प्रत्यारोप र कार्वाही सम्म पुगेको नागरिक उन्मुक्तिको विवादले नयाँ सरकार गठन हुन सकेको छैन।

नागरिक उन्मुक्तिका ५ जना मन्त्री समेत सहभागी रहेको प्रदेश सरकारले बिश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री कमल शाहले चैत २२ गते राजिनामा दिएका थिए। चैत २३ गते प्रदेश प्रमुखले वैशाख २ गते भित्र मुख्यमन्त्रीको दावी पेश गर्न आवहान गरेका छन्।

सरकार निर्माणका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिको विवादका कारण कसैले पनि मुख्यमन्त्रीमा दावि पेश गर्न सकेका छैनन। नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभामा ७ जना सांसद रहेकोमा पार्टि अध्यक्ष रन्जिताले सांसद ईन्दिरा गिरीलाई कार्वाही गरेपछि हाल ६ जना रहेका छन। ६ जना मध्य ४ जना रेशमको पक्षमा छन भने २ जना रन्जिताको पक्षमा छन्।



बुधबार २८, चैत २०८० ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.