उपनिर्वाचनका लागि उम्मेदवार छान्दै दलहरू

युग संवाददाता     67 पटक पढिएको    

उपनिर्वाचनका लागि उम्मेदवार छान्दै दलहरू

 

 धनगढी  बझाङ प्रदेश सभा १० मा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि दलहरूले उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएका छन् । कांग्रेस र एमालेले उम्मेदवारका आकांक्षीको नाम पार्टीको प्रदेश समितिलाई सिफारिस गरेका छन् । माओवादी र एकीकृत समाजवादी पनि उम्मेदवार सिफारिसको तयारीमा छन् ।

गत निर्वाचनमा उक्त क्षेत्रमा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । गत ५ असारमा बझाङमा भएको दुर्घटनामा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका सिंहसहित उनकी पत्नी र भाउजूको निधन भएको थियो । रिक्त रहेको सो क्षेत्रमा निर्वाचन आयोगले आगामी १५ वैशाखमा उपनिर्वाचन गराउँदै छ ।

निर्वाचनका लागि कांग्रेस जिल्ला कार्यसमितिले उम्मेदवारका आकांक्षी १० जनाको नाम पार्टीको प्रदेश समितिलाई सिफारिस गरेको छ । केन्द्रले सकेसम्म सर्वसम्मत र नभए तीनजनाको नाम पठाउन भने पनि सहमति नभएपछि जिल्लाले १० जनाको नाम सिफारिस गरेको हो । ‘उम्मेदारका आकांक्षी धेरै भए, आकांक्षीकै चाहनामा सबैको नाम सिफारिस गरेका छौँ,’ कांग्रेस बझाङका प्रवक्ता रमानन्द जोशीले भने, ‘कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय पार्टी केन्द्रले गर्ला ।’

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

नेताहरू जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा पुजारा, अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस गरिएको प्रवक्ता जोशीले जानकारी दिए । अभिषेक स्वर्गीय सिंहका छोरा हुन् । जोशी चर्चित देउडा गायक हुन् । सिफारिस गरिएका नाम प्रदेश हुँदै केन्द्रमा जाने कांग्रेसले जनाएको छ ।

उपनिर्वाचनमा एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीबीच गठबन्धन हुने सम्भावना छ । गठबन्धनमा भागबन्डा नटुंगिए पनि आकांक्षीले केन्द्रमा लबिङ बढाएका छन् । एमालेले तीनजनाको नाम पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको छ । उम्मेदवार बन्न ६ जनाले दाबी गरे पनि आन्तरिक निर्वाचनबाट तीनजना छनोट गरेर नाम पठाइएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

दमन भण्डारी, राधा विष्ट र जुना जाग्रीको नाम जिल्लाबाट सिफारिस भएर आएको एमाले प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिए । गत निर्वाचनमा पराजित ओफिलाल ओखेडाले आकांक्षा राखे पनि आन्तरिक निर्वाचनबाट उनी सिफारिसमा परेनन् । सचिव चन्दले कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय केन्द्रबाटै हुने बताए । ‘सामान्यतया गठबन्धन गरेरै चुनावमा जाने सहमति हुने देखिन्छ,’ उनले भने, ‘गठबन्धन हुँदा कुन क्षेत्र कसको भागमा पर्छ यकिन छैन, तर हाम्रो जोडबल बझाङमा एमालेले लिनुपर्छ भन्ने छ ।’

माओवादीमा नेताहरू देवराज रेग्मी, जनक बुढा र मीनबहादुर कुँवर उम्मेदवारका प्रबल दाबेदार छन् । उक्त पार्टीले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरिसकेको छैन । माओवादीका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले १०–११ चैतसम्म उम्मेदवारका नाम सिफारिस गर्न जिल्लालाई भनिएको बताए ।

यसैगरी, एकीकृत समाजवादीले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न निर्देशन दिएको छ । बुधबार बसेको ७७औँ केन्द्रीय सचिवालय बैठकले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा इलाम र बझाङमा प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदारको नाम सिफारिस गर्न निर्देशन दिएको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले उपनिर्वाचनको उम्मेदवारको निम्ति सत्तागठबन्धनसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।



बिहिबार ०८, चैत २०८० १०:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.