गेटा अस्पतालको सेवा विस्तारका लागी  भवन हस्तान्तरण

युग संवाददाता     318 पटक पढिएको    

गेटा अस्पतालको सेवा विस्तारका लागी  भवन हस्तान्तरण

 

धनगढी फागुन २७ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। गेटा अस्पताल सञ्चालन र विस्तारका लागि समितिले आज आइतबार अस्पतालसँग सम्बन्धित ६ वटा भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको हो ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए।


उनले अस्पतालको सेवा विस्तारका लागि ठूलो ब्रेकथ्रू भएको बताए । उनका अनुसार अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएकाले अब अस्पतालको सेवा विस्तारको काम तीव्र रुपमा अगाडि बढ्नेछ। गेटामा गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आएको थियो । अस्पताल सञ्चालनका लागि लामो समयदेखि भवन हस्तान्तरण नहुँदा गेटामा सेवा सुरु हुन समस्या भइरहेको थियो। भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढाउँदै सेवा विस्तारको काम सुरु हुने डा सापकोटाले जानकारी दिए।

पूर्वाधार विकास निर्माण समितिलाई गेटा अस्पतालले भवन आवश्यक परेको भन्दै मंसिर ११ गते पत्र पठाएको थियो। सोही पत्रपछि समितिले अस्पताललाई भवन हस्तान्तरण गरेको हो। समितिले भवनको भौतिक संरचनात्मक स्वरुपमा असर नपर्ने गरी र अस्पताल भवनमा जडान भएका संलग्न सुची बमोजिमका पानी, विजुली, सञ्चार, एसि, अक्सिजन सप्लाई सिस्टम लगायतको प्रयोजनार्थ प्रयोग हुने उपकरण, मेसिनरी सामान र फर्निचरहरु लगायतको सम्पूर्ण रेखदेख संरक्षण सम्बर्द्धन तथा मर्मत संभारको सम्पूर्ण जिम्मेवारी अस्पताल निर्देशकको रहने गरी भवन हस्तान्तरण गरेको हो।

समितिले अस्पताललाई अस्पताल भवन(१, लण्ड्री हाउस भवन(१, अटोक्लेभ भवन(१, कुरुवा घर(१, शव गृह(१, अक्सिजन प्लान्ट(१ गरी जम्मा ६ वटा भवन तथा उक्त भवनहरु संग अन्तर सम्बन्धित पानी, विजुली, सन्चार, एसी सिस्टम, अक्सिजन सप्लाई सिस्टम लगाएतका लागि जडान भएका उपकरण मेसिनरी सामान तथा फर्निचर लगायतको प्रयोग गर्ने गरी हस्तान्तरण गरेको छ। सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ।

गेटालाई मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय भन्ने विवाद लामो समयदेखि चल्दै आइरहेको छ। झन्डै १५ वर्षदेखि घोषणामै सीमित गेटा मेडिकल कलेजका भौतिक संरचना निर्माण लगभग पूरा भएको छ। भौतिक संरचना निर्माणसँगै सुरुमा ३ सय बेडको अस्पताल सुरु गरेर प्रतिष्ठान बनाउने प्रक्रियामा अघि बढेको थियो। २०७९ असार ४ गते धनगढी पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रुपमा छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। सोही अनुसार स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालनको काम अगाडि बढायो। तर हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटालाई चिकित्सा शिक्षा विश्वविद्यालय बनाउने घोषणा गरे। त्यसपछि फेरि स्वास्थ्य र शिक्षा मन्त्रालयबीच अन्यौल सिर्जना भयो। विश्वविद्यालयको विधेयक पनि तयार भइसकेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भइसकेको अवस्था छ। विधेयक प्रतिनिधि सभामा पठाइएको छ।



आइतबार २७, फागुन २०८० ०१:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.