किसानले सडकमा पोखे दुध, पाँच करोडको भुक्तानी पाएनन

युग संवाददाता     155 पटक पढिएको    

किसानले सडकमा पोखे दुध, पाँच करोडको भुक्तानी पाएनन

 

धनगढीः सुदूरपश्चिमका दुग्ध उत्पादन गर्ने किसानले भुक्तानी पाएका छैनन्। कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानले असोज १६ देखि दूधको भुक्तानी नपाएका हुन्।

दुध उत्पादक किसानले असोज १६ देखि माघ मसान्तसम्मको ४ करोड ६४ लाख २ हजार ४७३ रुपैयाँ र फागुन १५ गतेसम्मको पाँच करोड बढीको भुक्तानी नपाएका हुन्। किसानहरूले लामो समयसम्म दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै बिहिवार कैलालीको अत्तरियामा प्रदर्शन गरिएको छ। अखिल नेपाल किसान महासंघ र दुग्ध उत्पादक किसानले उत्पादन भएको दूध खरिद गर्नुपर्ने र बाँकी रहेको बक्यौता रकम भुक्तानी पाउनुपर्ने माग गर्दै सडकमा दूध पोखेर प्रदर्शन गरेका हुन्।

दर्शनमा आएका किसानहरूले आफूहरूले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्। उनीहरूले उत्पादित दूध सबै बिक्री नहुने र थोरै बिक्री भएको दूधको समेत समयमा दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बताए। दुग्ध विकास संस्थानले दूध खरिद गर्ने सम्झौता गरेर उत्पादित सबै दूध नकिन्ने र किनेको दूधकी पनि भुक्तानी नपाउँदा मर्कामा परेको गुनासो गोदावरीका किसान मोहनराज जोशीले बताए। ‘दुग्ध विकास संस्थानको कारण दूध बिक्री हुन छोडेको छ। एक लाखमा खरिद गरेको भैँसी ५० हजारमा बिक्री गर्न खोज्दा पनि बिक्री नहुने समस्या छ,’ उनले भने, ‘दुग्ध विकास संस्थानले दूधको मूल्य पनि कम दिन्छ भने भुक्तानी पनि ६ महिनादेखि दिएको छैन।’

दुग्ध विकास संस्थानले भुक्तानी नदिँदा किसानलाई समस्या भएको नायल कृषि सहकारीका सदस्य पदमराज गिरिले बताए। उनले आफ्नो सहकारीमा २९५ जना किसान आबद्ध रहेको र किसानहरूले उत्पादन गरेको दूधको मूल्य नपाएको बताए। ‘हाम्रो सहकारीमा २९५ जना सदस्यले डिडिसीबाट दूधको भुक्तानी पाएका छैनन्। संस्थानले उत्पादित सबै दूध नकिन्ने एउटा समस्या छ भने रकम भुक्तानी नदिने अर्को समस्या छ,’ उनले भने, ‘जसरी पनि किसानलाई नोक्सान हुने कुराको अन्त्य हुनुपर्छ। सरकारले किसानका समस्या बुझ्नुपर्छ।’ किसानहरूले दूध बिक्री गर्न नपाएको तथा बिक्री भएको दूधको मूल्य नपाएको भन्दै सडकमा आन्दोलन गर्नुपरेको अखिल नेपाल किसान महासङ्घ, सुदूरपश्चिम समितिले जनाएको छ। महासङ्घले बिहिवार अत्तरियामा दूध पोखेर विरोध प्रदर्शन गरेको हो।


दुग्ध विकास संस्थानले किसानको उत्पादित दूध नकिन्ने र थोरै खरिद गरेको दूधको पनि भुक्तानी ६÷६ महिनासम्म भुक्तानी नदिनु गलत भएको भन्दै प्रदर्शन गर्नुपरेको अखिल नेपाल किसान महासङ्घका प्रदेश अध्यक्ष मदनराज रेग्मीले बताए। उनले किसानहरूले भुक्तानी नपाउँदा जीविकोपार्जनमै समस्या भएकाले आन्दोलन गर्नुपरेको बताए। ‘किसानहरूले जीविकोपार्जन गर्न दूध बिक्री गर्नुहुन्छ तर लामो समयसम्म डिडिसीले भुक्तानी नै गर्दैन,’ उनले भने, ‘एकातिर किसानको दूध नकिन्ने र किन्नुपर्ने भए समयमा भुक्तानी नगर्ने समस्या छ भने अर्कोतिर दूधको मूल्य निर्धारण गरिएको छैन। किसानहरू मर्कामा परेकाले सरकारलाई किसानका माग पूरा गर्न दबाब दिन प्रदर्शनमै उत्रिनु परेको हो।’

विज्ञापन
बमम
दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकले विगतमा किसानलाई महिनामा दुई पटक दूधको भुक्तानी दिने गरेको भए पनि असोज १६ बाट बजारमा दूध तथा दुग्धजन्य पदार्थ बिक्री नभएकाले किसानलाई भुक्तानी दिन नसकेको बताए। उनले हिउँदमा खपत घटेका कारण भुक्तानी दिन समस्या भएको बताए। ‘हामीले महिनाको दुई पटक भुक्तानी गर्दै आएका थियौँ।१–१५ गतेसम्मको २३÷२४ गते र १६ देखि मसान्तसम्मको अर्को महिनाको ७÷८ गतेसम्म किसानलाई भुक्तानी गर्ने व्यवस्था हो,’ उनले भने, ‘कोरोनादेखि हाम्रो उत्पादनको खपत घट्न पुग्यो भने दूधको मूल्य वृद्धि भयो। हाम्रो उत्पादनको लागत बढी पर्न जाँदा निजी डेरीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा पनि आम्दानी बढ्न सकेन र किसानको भुक्तानी अहिलेसम्म रोकिन गएको हो।’

दुग्ध विकास संस्थानले गत चैतदेखि दूधको मूल्यमा भएको वृद्धिले पनि भुक्तानीमा समस्या भएको जनाएको छ। दूधको मूल्य बढ्दा बजारमा डिडिसीको दूधको मूल्य ९० रुपैयाँ पुग्यो भने निजी डेरीले ८० रुपैयाँ प्रति लोटर दूध बिक्री गर्दा संस्थानको उत्पादन बिक्रीमा गिरावट आएको दुग्ध विकास संस्थान, धनगढी दुग्ध वितरण आयोजना अत्तरियाका सङ्कलन शाखा प्रमुख चन्द्रमोहन लेखकको तर्क छ। डिडिसीले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ गुणस्तरीय भएपनि निजी डेरीसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानको बजार खुम्चिएको जिकिर लेखकको छ। ‘हाम्रो लागत पनि बढी छ। गुणस्तर कायम गरेर मापदण्डअनुसार प्याकेजिङ गरेर दूध तथा दुग्धजन्य पदार्थ बजारमा पठाउँछौँ तर खपतमा गिरावट आएको छ,’ उनले भने , ‘कोरोनाभन्दा पहिले दैनिक चार हजारसम्म खपत थियो भने अहिले मुस्किलले एक हजार लिटर खपत छ। जसले गर्दा पनि किसानले उत्पादन गरेको सबै दूध खरिद गर्न र खरिद गरेको सबै दूध बिक्री गर्न समस्या भएको छ।’

दुग्ध विकास संस्थानले बजारमा पठाउने दूध तथा दुग्धजन्य पदार्थमा ब्याज नम्बर, कन्टेन्ट, उत्पादन गरिएको मिति, उपभोग्य मिति राखेर सबै मापदण्ड पूरा गरेर प्याकेजिङ गरेर बजारमा पठाउँदा लागत समेत बढी पर्न जाने लेखक बताउँछन्। उनले पोका पारेर दूध बिक्री गर्ने प्रथा कायम रहुन्जेल डिडिसीले नोक्सान बेहोर्नु पर्ने र त्यसको असर किसानलाई समेत परिरहने बताएका छन्



शुक्रबार १८, फागुन २०८० ०३:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.