आजबाट ७५ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप, २५ दिनसम्म चल्ने

युग संवाददाता     133 पटक पढिएको    

आजबाट ७५ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप, २५ दिनसम्म चल्ने

 

काठमाडौँ । आजबाट दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई लिएर सरकारले ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । 


चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । 

२५ दिनसम्म चल्ने खोप अभियानमा १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप दिइनेछ । 

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । 

गौतमका अनुसार नौ महिनादेखि पाँच वर्षमुनिका २१ लाख ३० हजार ६८३ बालबालिका र पाँच वर्षदेखि १५ वर्षमुनिका ३६ लाख १२ हजार ३१० बालबालिका गरी कूल ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ । खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयम्सेवक परिचालन गरिने छ ।

उनले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत दिइएको बताए ।

दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ । 



आइतबार १३, फागुन २०८० ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.