एमाले कैलालीको अधिवेशनमा जात्रा, मतदान नगरी घर फर्किदै प्रतिनिधी

युग संवाददाता     126 पटक पढिएको    

एमाले कैलालीको अधिवेशनमा जात्रा, मतदान नगरी घर फर्किदै प्रतिनिधी

 


धनगढी / नेकपा एमाले कैलालीको अधिवेशनमा जात्रा भएको छ । फागुन ६ गते शुरु भएको अधिवेशन ५ दिन बितिसक्दासम्म सम्पन्न हुन सकेको छैन । पार्टी अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्दै अधिवेशन २ दिनभित्र सम्पन्न गर्न निर्देशन दिइएको भएपनि ५ दिनसम्म मतदान शुरु हुन सकेको छैन । उनले सहमति भए आइतबार नै नभए सोमबार बिहानै निर्वाचन गर्न निर्देशन दिएका थिए ।
अधिवेशनको पाँचौ दिन तेश्रो पटक सुचना जारी गर्दै बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्को सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।


यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियोे तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् । तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएको बताउँदै आइरहेको छ । एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् । कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।



बिहिबार १०, फागुन २०८० ०१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.