एमाले कैलालीको जिल्ला अधिवेशनको  नेतृत्वका विच सहमति  नहुँदा निर्वाचन हुने सम्भावना बढ्यो

युग संवाददाता     91 पटक पढिएको    

एमाले कैलालीको जिल्ला अधिवेशनको  नेतृत्वका विच सहमति  नहुँदा निर्वाचन हुने सम्भावना बढ्यो

 
धनगढी । कैलालीको सुख्खडमा नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा निर्वाचनको बन्दसत्र जारी रहेको छ। कैलालीको सुखडमा आइतवारदेखि सुरु भएको अधिवेशनको सोमवार दिउँसो २ बजेबाट बन्दसत्र सुरु भएको हो।


आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेसँगै शुरू भएको अधिवेशनमा सहमतिका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष निस्किन नसकेको एक नेताले बताए।सोमवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिउँसोबाट मात्र सुरु भएको थियो।अध्यक्षसहितका पाँच पदाधिकारीका आकाङ्क्षीहरूसँग इच्छापत्र मागेको थियो। अध्यक्षमा तीन जनासहित पदाधिकारीका लागि ५३ जनाले इच्छापत्र दर्ता गराएका थिए। ४ र ५ गते आकाङ्क्षीकाबिचमा सहमति खोजीने भनिएको थियो। तर, अधिवेशन सुरु भएको दोस्रो दिनसम्म समेत कुनै पदमा सहमति जुट्न सकेको छैन।

कुनै पदमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने लगभग निश्चित भएको हो ।  स्रोतका अनुसार सचिव पदका लागि इच्छापत्र पेश गरेका कैलाली जिल्लाका उपसचिव ममताप्रसाद चौधरीले पनि छलफलका क्रममा अध्यक्ष पदमा दाबी गरेका छन् । चौधरीले अध्यक्ष पदमा दाबी रहेको बताए । ‘दाबी निश्चित रूपमा रहन्छ, अहिले नै निर्वाचन प्रक्रिया शुरू भएको छैन । नेतृत्व गर्न म सक्षम छु,’ चौधरीले भने । ‘नेतृत्व चयनका लागि केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य दामोदर भण्डारी लगायतका नेता र उम्मेदवारका बीचमा भएको छलफलले निष्कर्ष निकाल्न सकेन । अब निर्वाचन हुने लगभग निश्चित छ,’ एक प्रतिनिधिले भने ।


सहमतिका लागि भएको छलफलमा केन्द्रीय नेताहरूले ‘लाइन क्लियर’ गरेका छन् । कैलालीको नेतृत्वको लागि ३ जना आकांक्षी छन् । केन्द्रीय सचिव भट्टले कैलाली जिल्ला कार्यबाहक अध्यक्ष दुर्गा जोशीलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् । जोशी र भट्टको पहाड घर डोटी नै हो । निर्वाचनमा निर्णायक बन्दै आएको डोटी फ्याक्टरले जोशीका पक्षमा भोट दिने प्रस्ट छ । भट्टका स्वकीय सचिव हितेश ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् । स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् ।

थापाको बाजुरा र पाण्डेको पुर्ख्यौली घर अछामका हो । बाजुरा–अछाम समुदाय सँगै कैलालीको पूर्वी क्षेत्रको भोट पाण्डेलाई आउने आकलन गरिएको छ । कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरीलाई पाण्डे समूहबाट सचिव पदका दाबेदार मानिएको थियो । चौधरीले पनि दाबी गरेपछि समीकरण तलमाथि पर्ने देखिन्छ । एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षमा पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगानालाई सघाइरहेका छन् । यहाँ बैतडी र अछाम फ्याक्टरले काम गर्ने अनुमान गरिएको छ।

हाल बैतडी घर रहेका भण्डारीले अध्यक्षमा सघाइरहेका ढुंगानाको पुर्ख्यौली घर अछाम हो । उनको टीमबाट सचिव पदमा बैतडी समुदायकै विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् । केन्द्रीय सचिव भट्ट र केन्द्रीय कमिटी सदस्य भण्डारी एमाले महासचिव शंकर पोखरेलसँग निकट छन् भने स्थायी कमिटी सदस्य कर्ण थापा उपाध्यक्ष विष्णु पौडेलसँग निकट मानिन्छन् । केन्द्रीय नेताहरूले तीनथरि लबिङ गर्न थालेपछि पार्टी अध्यक्ष ओलीले ममतालाई अध्यक्षका लागि ग्रीन सिग्नल दिएको स्रोतको दाबी छ । चौधरीको इन्ट्रीले समीकरण रोचक बनेको छ । सहमतिका लागि अन्तिमपटक सर्वपक्षीय बैठक बस्ने बताइएको छ । बैठकबाट सहमति जुट्न नसके निर्वाचन प्रक्रिया शुरू हुनेछ ।



मङ्गलबार ०८, फागुन २०८० ०४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.