महासमितिमा हिन्दूराष्ट्रलाई छलफलको विषय बनाउन पूरक प्रस्ताव पेश

युग संवाददाता     81 पटक पढिएको    

महासमितिमा हिन्दूराष्ट्रलाई छलफलको विषय बनाउन पूरक प्रस्ताव पेश

काठमाडौँ । नेपाली कांग्रेसका दुई दर्जन केन्द्रीय सदस्यहरुले नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउन माग गर्दै महासमिति बैठकको अजेन्डा बनाउन प्रस्ताव पेश गरेका छन् । 


कांग्रेसको पार्टी मुख्यालय बीपीनगर सानेपामा बिहीबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवालाई महासमितिमा हिन्दूराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन पूरक प्रस्तावको रुपमा २२ केन्द्रीय सदस्यहरुले प्रस्ताव पेश गरेका हुन् । 

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको टोलीले सभापति देउवालाई विशेष पूरक प्रस्ताव पेश गरेको हो । 

प्रस्तावमा कांग्रेस ब्यापक जनआधारमूलक प्रजातान्त्रिक पार्टी भएको भन्दै धार्मिक स्वतन्त्रता सहितको नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवं किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरिएको उल्लेख छ । 

प्रस्तावमा फागुन ७ गतेदेखि शुरु हुने महासमिति बैठकका सन्दर्भमा जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरुमा वैदिक सनातन धर्म जस्तो बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएकोप्रति चिन्तित भएको भन्दै पूरक प्रस्ताव पेश गरिएको उल्लेख छ । 

प्रस्ताव पेश गर्ने २२ जनामा भण्डारीसहित देवेन्द्रराज कण्डेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, डा। डिला संग्रौला लगायत रहेका छन् । 

पूर्वमन्त्रीसमेत रहेका भण्डारी लामो समयदेखि नेपाललाई हिन्दू सनातन राष्ट्र घोषणा गर्नुपर्ने अजेन्डा बोकेर हिँडिरहेका छन् । 

उनको अजेन्डामा अन्य केन्द्रीय सदस्यहरु पनि थपिएका छन् । महासमिति बैठकमा यो विषयले व्यापकता पाउने अपेक्षासमेत गरिएको छ । 



शुक्रबार ०४, फागुन २०८० ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.