वडाका योजनाको भुक्तानी वडा कार्यालयबाटै हुने

युग संवाददाता     149 पटक पढिएको    

वडाका योजनाको भुक्तानी वडा कार्यालयबाटै हुने

धनगढी/ धनगढी उपमहानगरपालिकाले वडाका कार्यक्रम योजनाको भुक्तानी वडाकार्यालयबाटै दिन सुरु गरेको छ । उपमहानगरपालिकाले पहिलोपटक वडाकार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडाकार्यालयबाटै दिन सुरु गरेको हो ।

धनगढी उपमहानगरपालिका १ को कार्यालयलाई सुरुमा कार्यक्रमको भुक्तानीको अधिकार दिइएको छ । वडाध्यक्ष सन्तोष मुडभरीले १९ वटै वडाका कार्यक्रमको भुक्तानी अब वडा कार्यालयबाटै हुने गरेर अधिकार प्रत्यायोजन गरिएको बताए । संघीयताको मुल भावना अनुसार वडामा आर्थिक अधिकार प्राप्त भएको उनले बताए । उनले भने, ‘वडाका कार्यक्रमको भुक्तानीका लागि समेत उपमहानगरपालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्थ्यो । वडाहरूमा आर्थिक भुक्तानीको अधिकार दिइएको छ । वडाका योजनाहरूको पूर्ण भुक्तानी वडाबाटै हुने प्रक्रिया मिलाइएको छ ।’

ग्रामीण क्षेत्रका नागरिकको सुविधाका लागि वडाबाट भुक्तानी दिन थालिएको नगर प्रमुख गोपाल हमालले बताए । उनले भने, ‘विकेन्द्रीकरण भएको हो । वडामा उपभोक्ता समिति गठन होलान । उहाँहरूले काम पूरा गरेपछि भुक्तानीका लागि उपमहानगरपालिका आउनुपर्ने बाध्यता थियो । अब वडाका कार्यक्रमको भुक्तानी पनि वडा कार्यालयबाटै हुने बनाएका छौ । जनतालाई धनगढीसम्म आउन दुःख हुने भएकाले वडाबाट योजनाको भुक्तानी दिने अधिकार दिएका हौ । उहाँहरूको समयसँगै खर्चपनि कम हुन्छ ।’

धनगढी उपमहानगरपालिकाका एक वडामा २५(३० योजनाहरू हुने गरेका छन । वडाबाट कार्यान्वयन हुने योजनाको भुक्तानीसमेत उपमहानगरपालिकाबाट हुदै आएको थियो । स–साना योजनाको भुक्तानीका लागि नागरिकले धनगढी उपमहानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता थियो।

उपमहानगरपालिकाको कार्यालयबाट टाढाका बस्तीबाट आएका सेवाग्राहीलेसमेत प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नभएको समयमा सेवा नपाउने अवस्था थियो । तर, वडामै आर्थिक अधिकार गएपछि सेवाग्राहीलाई सहज हुने विश्वास धनगढी उपमहानगरपालिकाको छ। धनगढी उपमहानगरपालिकाले लेखाका कर्मचारी वडामा खटाउने छ भने, वडा सचिवहरूलाई अधिकार दिइएको छ । धनगढी उपमहानगरपालिकाले योजनाको रकम भुक्तानीका लागि आवश्यक उपकरणसमेत सहयोग गर्दै आएको छ। वडाका कार्यक्रमको अनुगमन भने नगर उपप्रमुख कन्दकला कुमारी राना संयोजक रहेको टिमले गर्नेछ । वडामा प्राविधिकसहितको अनुगमन टोली हुनेछ । वडाका योजनाको सङ्ख्या र रकमसमेत एकिन गर्न थालिएको छ। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ रुपैयाँको रहेको छ।



बुधबार ०२, फागुन २०८० ०१:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.