टीकापुरमा कम तौलका ढक प्रयोग गरी ठगी

युग संवाददाता     168 पटक पढिएको    

टीकापुरमा कम तौलका ढक प्रयोग गरी ठगी

टीकापुर। कैलालीको टीकापुरमा कम तौलका ढक प्रयोग गरी ठगी हुने गरेको पाइएको छ। कैलालीको टीकापुर नगरपालिका–३ कार्यालय र उपभोक्ता हित संरक्षण उपशाखाले संयुक्त रूपमा २९ वटा पसल अनुगमन गर्दा ठगी हुने गरेको पाइएको हो। टीकापुरका ग्रामीण बजारका पसलमा तौल कम र बिग्रेका ढक, तराजु प्रयोग गरेको पाइएको छ।
छ वर्षदेखि मासु व्यापार गर्दै आएका टीकापुर नगरपालिका(३, चटिया बजारका धर्मेन्द्र चौधरीको पसलमा एक किलो भनेर प्रयोग गरेको ढक ९५१ ग्राम मात्रै भेटिएको छ। ढकमा तौल मिलाउन भरेको सिसा हटाइएको र ढकका कुना टुटाइएको छ।पुछरी बजारमा दसौँ वर्षदेखि चलिरहेको सुरेश किराना पसलमा पनि एक किलोको ढकको तौल ९६० ग्रामजति मात्रै भेटिएको थियो। यहाँका केही पसलमा ढकको तौल कम देखिएको छ। धेरैजसो पसलमा तराजुको सन्तुलन बिगारिएको बताइएको छ।


गाउँका पसल नियमित अनुगमन नहुने, बिक्रेता पनि सामान बेच्नबाहेक केही नजानेका हुनाले उपभोक्ता ठगिएका छन्। टीकापुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख नन्दबहादुर केसीका अनुसार ग्रामीण बजारमा नापतौलमा ठगी र एकरदुई वर्षअघि नै म्याद नाघेका खानेकुरा पनि बिक्री स्थलमा भेटिएका छन्। नगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐनअनुसार वडाको समन्वयमा ग्रामीण बजारमा पनि अनुगमन थालिएको छ। वडासचिव ताराविक्रम रानाले गाउँका बजारमा नापतौल तथा म्याद गुज्रिएका खाद्यवस्तु पाइएकाले व्यवसायीलाई बोलाएर छलफल राखिने र बजार व्यवस्थित गरिने बताएका छन्।



शुक्रबार १७, चैत २०७९ १२:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.