आफूमाथि भ्रमको राजनीति नगर्न पार्टीका नेताहरूलाई आग्रह

युग संवाददाता     144 पटक पढिएको    

आफूमाथि भ्रमको राजनीति नगर्न पार्टीका नेताहरूलाई आग्रह


धनगढी । नेकपा एमालेका नेता भीम रावलले एमाले उपाध्यक्ष विष्णु पौडेलले आउँदै छु भनेको भए स्वागत गर्न आफू तयार रहेको बताएका छन् । आज कैलालीको धनगढीमा पत्रकार सम्मेलनमा गर्दै उनले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिइएको बताए । ‘यदि मलाई विष्णु पौडेलले म आउँदै छु भनेको भए निश्चित रूपमा मेरो जिल्लामा स्वागत गर्न जाने थिएँ,’ उनले भने ।

अछामको साँफेबगरमा पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको थियो । सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत उपस्थित रहेको पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति विपरीत ओली पक्षका एक नेताले बोलेका थिए । 

उपाध्यक्ष पौडेल सहभागी सार्वजनिक कार्यक्रमका एमालेका एक नेताले भीम रावलले एकीकृत समाजवादी र माओवादी केन्द्रका विभिन्न नेताहरूसँग भेटेको र गुटबन्दी गरेको आरोप लगाएका थिए । त्यसपछि कार्यक्रममा सहभागी रावलका समर्थकहरूले होहल्ला गरेका थिए । केही बेरपछि एमाले उपाध्यक्ष पौडेलले रावलले पार्टीले दिएको जिम्मेवारी अस्वीकार गरेको र पार्टीमा असहयोग गरेको बताएका थिए । रावलको विरुद्धमा बोलेपछि रावल पक्षधर कार्यकर्ताले नाराबाजी गर्दै कुर्सी प्रहार गरेका थिए ।   रावलको विरोध भएपछि कार्यक्रम बिथोलिएको थियो ।

पत्रकार सम्मेलनमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर आफूले अरू पार्टीकालाई भेट्न नपाउने भन्ने नहुने बताए । उनले भने, ‘केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपाल जीसँग वार्ता गर्नुभएछ । अरू साथीहरूले पनि गर्नुभएछ । पार्टी अलग बनाएर गइसक्नु भएका माधव नेपाललाई राष्ट्रपति बनिदिनुस्, पार्टी मिलाऔँ भन्दा पनि मिल्ने, प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि मिल्ने अनि मैले यहाँ कोही मान्छेसँग भेटेपछि भीम रावल त समाजवादी भइसक्यो भन्ने रु राजनीतिमा यस्तो पनि हुँदो रहेछ हाम्रो देशमा ।’

पार्टी निर्माणमा निरन्तर पसिना बगाएको, जेलनेलको सामना गरेको, स्वदेश र प्रवासमा सङ्गठन विस्तार गरेकाहरूलाई आफूले भेटेको रावलले प्रष्टीकरण दिए ।

नेता रावलले आफूमाथि भ्रमको राजनीति नगर्न पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । पदका लागी पार्टीको सिद्धान्त र घोषणा पत्र विपरत गरेको गठबन्धन पार्टीको हितमा नरहेको प्रमाणित भएको उनले बताए । 

उनले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेटाइ मात्र मानिराखूँ कि नघचेट भनेर जिउ चलाऊँ भनेर सोध्नेछु र त्यति बेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’



मङ्गलबार १४, चैत २०७९ १०:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.