करोडौँका पुल अलपत्र, शिलान्यास गर्दै छाड्दै

देश

युग संवाददाता     789 पटक पढिएको    

करोडौँका पुल अलपत्र, शिलान्यास गर्दै छाड्दै


बुटवल – गुल्मीमा १३ वटा पुलको शिलान्यास भएकोमा तीनवटा मात्रै निर्माण सम्पन्न भएका छन् भने अरु पुल वर्षौँदेखि अलपत्र अवस्थामा छन् ।

गुल्मीमा २०६९ सालदेखि २०७४ सालसम्म सम्झौता भएका पक्की पुलहरु अलपत्र परेका हुन् ।

१६ वटा पक्की पुल शिलान्यास भएकामध्ये अहिले तीनवटा बाहेक १३ वटा पुलको काम बाँकी रहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका निमित्त प्रमुख सरोज कुमार आचार्यले बताए । जिल्ला समन्वय समिति गुल्मीका सदस्य राम मल्ल ठकुरीले जिल्लामा काम नगर्ने पुलहरुको गुनासो व्यापक आएकाले अनुगमन थालिएको बताए ।

ठकुरीका अनुसार शिलान्यास भएपछि कामै नगरी धेरै निर्माणकर्ता सम्पर्कमा छैनन् ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल योजना सञ्चालन गर्ने कार्यालयसँग समन्वय गरेर काम नगर्ने कम्पनीहरुको खोजी गरेर कानुन अनुसार कारबाही अघि बढाउने बताए ।

यी हुन् अलपत्र परेका पुल


रुरु गाउँपालिका ५ बम्घाको बडिघाट खोलाको पुलको निर्माण लागत ८ करोड ७६ लाख हो । यसको निर्माणको जिम्मा लुम्बिनी–शान्ति जेभीले पाएको थियो ।

२०७० साल असार २६ गते निर्माणको जिम्मा पाएको कम्पनीले २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नु पर्ने हो । निर्माण सम्पन्न नभएपछि म्याद थपेपनि पुल आधा मात्रै बनेको छ ।

स्थानीय श्याम बोटेले निर्माण आधा भएको पुललाई घान सुकाउने थलोको रुपमा प्रयोग गर्दै आएका छन् । उनी भन्छन्, ‘ठेकेदार आउन छाडेपछि पुल अलपत्र थियो, ढलान गरेको आधा पुलले आँगनको काम गरेको छ ।’

गुल्मी र स्याङजा जिल्ला जोड्ने पुल पनि तीन वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायी काम छोडेर अदालत धाइरहेका छन् । गुल्मीको रिडी र स्याङ्गजाको चण्डीभञ्ज्याङ्ग जोड्ने पक्की पुल २०६९ साल असार २५ गते सम्झौता भएको हो ।

२०७२ मै सक्नुपर्ने पुल सर्वोच्चमा मुद्दा दिएर व्यवसायीले काम नगरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । पुलको लागत दुई करोड २९ लाख २० हजार रुपैयाँ हो । ०७२ असार २४ गते सकिनुपर्ने सम्झौतामा उल्लेख छ ।

एकातिरको सामान्य पिल्लर र पुल वारिपारी जग निर्माण गरिएको छ । बिचको वेल फाउण्डेशको काम गर्दै जाँदा ठूलो ढुङ्गा आएकाले काम गर्न समस्या भएको निर्माण व्यावसायी अजय लामिछानेले बताए ।

आफूलाई सम्झौता भएको दुई वर्षपछि पुलको डिजाइन दिएकाले अदालतमा मुद्दा दिएको लामिछानेले बताए ।

यस्तै जिल्लाकै गौरवको रुपमा हेरिएको रिडीको तिनमुखे पुल पनि निर्माण भएको छैन । गुल्मी, पाल्पा र स्याङजा जोड्ने यो पुलको २०७१ मंसिर १५ गते शिलान्यास भएको थियो ।

९ करोड ८८ लाख २६ हजार तीन सय ३२ रुपैयाँमा नयाँबाटो–रुबिना—मना जेबी निर्माण कम्पनीले कामको जिम्मा पाएको थियो । सम्झौतामा २०७४ साल असार ९ गते पुल निर्माण गरिसक्नुपर्ने छ । तर निर्माण कम्पनीका प्रमुख महेन्द्र अधिकारीले काम गर्ने कुनै निश्चित समय नहुने बताउँछन् । ‘समयमै काम सकिने भए सकिहाल्थ्यो यो अप्ठ्यारो काम हो’ उनले भने, ‘गर्दै जाँदा कहिले सकिन्छ पत्तो छैन ।’

बडिगाड खोलाकै हुँगा–सिस्ने जोड्ने पुलको पनि कामले पनि गति लिएको छैन । एसबिएन निर्माण सेवा कम्पनी काठमाडौले २०७३ माघ १० गते सम्पन्न गर्ने गरी २०७१ साल असार ३१ गते सम्झौता गरेको थियो । २०७४ साउन ३१ गते पुन म्याद थप भयो । तर काम सकिएको छैन । पुलको लागत छ करोड १० लाख ६६ हजार हो । सुपर स्टक्चरको काम भएको निर्माण कम्पनीले जनाए पनि काम सोचे अनुसार नभएको सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।

चोरकाटेको पक्की पुलको काम पनि सोचे अनुसार अघि बढेको छैन । २०७४ साल पुस ३१ गते सम्म काम नभएपछि २०७५ साल कार्तिक ३० गते म्याद थपियो । तर काम अझै पूरा भएको छैन । एक करोड ४० लाख ४८ हजारको पुलको अहिले पाइल फर्मेशनको काम भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले जनाएको छ । देश संचार बाट



बिहिबार २६, बैशाख २०७६ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.