विद्यार्थीहरुबाट चर्को शुल्क लिँदै बझाङका सरकारी विद्यालय

शिक्षा

युग संवाददाता     1067 पटक पढिएको    

विद्यार्थीहरुबाट चर्को शुल्क लिँदै बझाङका सरकारी विद्यालय

विद्यार्थीहरुबाट चर्को शुल्क लिँदै बझाङका सरकारी विद्यालय

बझाङ, बैशाख १९ । नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भनेता पनि बझाङ जिल्लाका सामुदायिक विद्यालयहरुले भने विभिन्न बाहानामा विद्यार्थीहरुबाट चर्को शुल्क लिने गरेका छन् ।

पटकपटक जिल्लाका सामुदायिक विद्यालयहरुले चर्को शुल्क लिने गरेको अभिभावकबाट जनगुनासो आएपनि शुल्क लिने विद्यालयहरुलाई हालसम्म पनि कार्वाही हुन सकेको छैन । यस वर्षको शैक्षिक शत्र सुरु भए संगै यहाँका विद्यालयहरुले विविध समस्या देखाउँदै विद्यालर्थीबाट अनाबस्यक रुपमा गैर कानुनी ढंगले भर्ना शुल्क असुल्ने पाइएको हो ।

कक्षा १ देखि १२ सम्म नेपाल सरकारले निःशुल्क शिक्षा भने पनि जिल्लाका अधिकांस सामुदायिक विद्यालयहरुले अहिले कक्षा ६ देखि १० सम्म भर्ना शुल्क, परिक्षा शुल्क, अनुपस्थित शुल्क, खेलकुद शुल्क, जस्ता बाहाना गर्दै शुल्क असुल्दै आएका छन् ।

तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोट घर भएका मिलन ऐडी कक्षा ७ मा पढ्ने भाइ असोक ऐडीको स्थानीय सुनिकोट मावि सुनिकोटमा भर्ना गर्न जाँदा विद्यालयले ३४० रुपैयाँ शुल्क लिएको गुनासो गरेका छन् । उनि जस्तै सुनिकोटका अन्य अभिभावकहरुले पनि आफ्ना बालबालिकाको भर्ना गर्दा रकम तिर्नु परेको दुखेसो राखे । सुनिकोट जस्तै जिल्लाकै नमुना मानिएको सदरमुकाम चैनपुर नजीकै रहेको सत्यबादी मावि भोपुरले समेत भर्ना शुल्क लिएको अभिभावकहरुले गुनासो गरेका छन् ।

आफूले सदरमुकाम चैनपुर नजीकै रहेको सत्यबादी माविमा कक्षा ७ मा २ छोरीको भर्ना गर्दा ९५० रुपैयाँ र कक्षा १० मा पढ्ने छोराको भर्ना शुल्क ५५० तिरेको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की महिला सदस्य पद्मादेवि सार्कीले बताइन् । ‘हामी जस्तो दलितहरुका बालबालिकाहरुलाई त झन निःशुल्क हुन्छ भन्ने थाहा थियो ।’ उनले भनिन्–‘पैशा नदिएसम्म शिक्षकहरुले छोरा छोरीको भर्ना नै नगरि दिएपछि आफूले बाध्य भएर भर्ना शुल्क तिर्नु परेको छ।’

सत्यबादी मावि भोपुरका प्रअ रामदत्त उपाध्यायले विद्यालयको शैक्षिक सुधारका लागि केहि शिक्षकहरु निजी श्रोतबाट राखेको हुँदा विद्यार्थीहरुबाट सहयोग स्वरुप भर्ना रमक लिएको बताए । सत्यबादीमा कक्षा ७ मा भर्ना भएकी विमला बादीले ४५० भर्ना शुल्क तिरेको बताइन् ।

यस्तै सदरमुकाम चैनपुर नजिकै रहेको जालपा माविले समेत भर्ना शुल्क लिएको विद्यालय ब्यावस्थापन समितिका सदस्य समेत रहेका रमेश धामीले बताए । उनले भने–‘छोरा कक्षा ९ मा अध्यनरत छ उसको ३२५ र छोरीको कक्षा ७ मा भर्ना गर्दा ३०० रुपैयाँ तिरेको ।’ विद्यालय ब्यावस्थापन समितिमा नै कुनै सल्लाह जानकारी विना नै शिक्षकहरुले मनोमानी भर्ना शुल्क लिने गरेको उनको आरोप छ ।

उक्त विद्यालयले कक्षा ६,७ र ८ को ३०० र कक्षा ९ को ३२५ र १० कक्षामा भर्ना हुने विद्यार्थीबाट ३५० रुपैया भर्ना शुल्क तोकेको बताए । सरकारी नीति अनुसार निशुल्क शिक्षा केबल काजमै सीमित भएको र सामुदायिक विद्यालयहरुले नै सरकारी नीतिको खिल्ली उडाएको उनले बताए ।

यता जयपृथ्वी नगरपालिका शिक्षा संयोजक तथा श्रोत ब्यक्ति खगेन्द्रप्रसाद जोशीले भने बझाङ जिल्लाका सामुदायिक विद्यालयहरुले निमय विपरीत शुल्क असुल्ने गरेको स्विकार गर्दै धेरै जस्तो विद्यालयहरुमा निजी क्षेत्रबाट नै शिक्षहरुको ब्यावस्था गरेको उनिहरुलाई तलब खुवाउनका लागि भन्दै भर्ना शुल्क लिने गरेको बताए ।

प्रमख जिल्ला अधिाकरी सुरेश सुनारले जिल्लामा रहेका विभिन्न सामुदायिक विद्यालयहरुले भर्ना शुल्क लिएको भन्ने कुरा सामान्य जानकारीमा आएको र यस विषयमा जिल्ला शिक्षा समन्वय ईकाई संग बुझी यदि भर्ना शुल्क लिएको फेला परे नियमअनुसार कार्वाही हुने बताए ।



बिहिबार १९, बैशाख २०७६ ११:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.